कविता : ” रातो मान्छे र मौन “

हामी सम्भावनाका घेराभित्र
मौनता साँधेर बाँचेका छौ
आत्म दाह र पराधिनताको बिरुध्द
युद्ध लडनुको बिकल्प
अनगिन्ति मौनतालाई कुल्चेर
छाती थापी दिने हाम्रो स्वाभिमान
र बहादुरीको
बर्चस्वलाई बचाउन बाहेक
हामीसंग
जड शान्ति र बुध्दको समर्पण
मण्डित छ।
राता मान्छेहरु पाइतालाहरुमा
सास फुकेर
संघर्षशील यात्रामा
मनभरी आँधी सल्काएर
अनन्त दौडसम्म
अनिवार्य मौन भई दिनु पर्ने ।
स्मृतिलाई रातो खोपीमा राखेर
मृत्यु बरण गर्नु पर्ने
समपुरण आकाँक्षाको गहिराईभित्र
नजन्माउ महाभारतका प्रहरहरु दुर्घटनामा मर्नेहरु अस्वीकार्य
स्वच्छताभित्र पनि दुर्गन्धित छ।
हामीलाई अँध्यारोमा साटासाट हुने
मौनतालाई सजाउँनु छ
मौनलाई भावनाको कदरमा टाँगेर
मौनतालाई सम्मान दिनु पर्ने
भन्चरोले घुँडा ताकने हाम्रो परम्परा
र जड्यौरीलाई
खापैखापमा थन्काएर
छाती थापी दिनु पर्ने
हाम्रो बहादुरी
बम, गोला र बारुदले
अब समयलाई बदल्न
एक पटक बेस्सरी धक्का दिन उठौ।

– देवेन्द्रकिशोर ढुंगाना
भद्रपुर  ( झापा  )

Leave a Reply

Your email address will not be published. Required fields are marked *