नेपाली कांग्रेस संघीय संसदको प्रतिपक्षी दल हो । संसदीय प्रणालीमा संसद प्रतिपक्षी दलको मानिन्छ । तर, कोरोनाभाइरसको कहर र बाढी पहिरोको मारमा जनता परेकाबेला उनीहरुको आवश्यकता र सरकारलाई सही मार्गदर्शनका लागि आवाज बुलन्द गर्ने जनप्रतिनिधिको थलो संघीय संसदको अधिवेशन बन्द छ । संसद राजनीतिक दाउपेचका कारण बन्द गरिएको छ ।

सत्तारुढ दलको सरकार र प्रतिपक्षी दलको संसद मानिन्छ । सत्तारुढ नेकपाले सरकार चलाइरहेको छ । तर, जनताको आवाज बुलन्द गर्ने र आवश्यक कानुन निर्माण गर्ने संसद अधिवेशन चालु नहुँदा प्रतिपक्षी दल कांग्रेस मौन छ । उसको मौनताप्रति कांग्रेसकै नेताहरु असन्तुष्ट बन्न थालेका छन् ।

नेपाली कांग्रेस जनताको आवाजभन्दा पनि आफ्नो भागबण्डाका लागि सत्तारुढ दल नेकपा र प्रधानमन्त्रीसँगको बाक्लो भेटवार्ता गर्ने गरेको छ । कोरोनाको कहरले जनता भोको पेटमै सडकको बास बन्न थालेको छ । काठमाडौं उपत्यकासहित शहरमा रहेका मजदुरहरुलाई कोठाभाडा बुझाउन नसकेकोमा घरबेटीले निकालिदिन थालेका छन् । भोकभोकै सडकमा रात बिताएका मजदुरहरुको पीडा सरकारले देखेको छैन । प्रतिपक्षी दल कांग्रेसलाई मतलब छैन । काठमाडौंबाट चुनावका बेला बस भाडा तिरेर मासुभात खुवाउँदै लाने नेताहरु आज उनीहरुको बिचल्लीमा चासो देखाएका छैनन् ।

यस्ता कयौँ समस्या सदनमा उठाउनु पर्ने कांग्रेस संवैधानिक भागबण्डामा अल्झिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कयौँपटक प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्, प्रचण्डलाई पनि भेटेका छन्। तर, यी भेटहरुमा संविधान निकायमा गरिने भागबण्डाबारे कुरा चले पनि सदन खुलाउने विषय उठेन । देउवाले सदन सुचारु गर्ने विषयमा एक शब्द बोलेका छैनन्, सत्तारुढ दल नेकपा र सरकारलाई हाइसन्चो छ ।

संसदीय प्रणाली र प्रजातन्त्रको आफूलाई हिमायती ठान्ने कांग्रेस महिनौँ दिनदेखि सदन नचल्दा मौनधारण गरेर बसेको छ । सामाजिक सञ्जालमा कुर्लिनुभन्दा सदनमा उफ्रिनु सांसद र जनताका लागि हितकर र सभ्य हुन सक्छ । सडकमा नारा लगाउनुभन्दा सदनमा जनताको आवाज बुलन्द गर्नु सांसदहरु उत्तरदायित्व हो । सामाजिक सञ्जाल सदन बन्न सक्दैन भन्ने कुरा सत्तारुढ र प्रतिपक्षी दल दुवैका सांसदहरुले बुझ्नु पर्ने हो ।

तर, सत्तारुढ दलका सांसदले बेवास्ता गरे पनि प्रतिपक्षी दलका सांसदहरु पनि मौन छन्, सदन खुलाउने विषयमा । कांग्रेसलाई पनि सदनको अधिवेशन नचाहिएको जस्तो गरिरहेको छ । पछिल्लोपटक गत वैशाख २६ गतेबाट सुरु भएको संसदको अधिवेशन असार १८ गते अन्त्य गरिएको थियो । तर, तीन महिना पुग्न लाग्दासमेत सदन सुचारु गर्ने सुरसार छैन। सदन सुचारु गर्ने विषयमा पनि कांग्रेसको मौनता देखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार