हल्दिबारी न्यूज डेक्स- नेपालका मातृभाषा साहित्यको अवस्था र प्रवद्र्धनका बारेमा अन्तर्राष्ट्रिय परिचर्चा गर्न बेलायतमा विश्व नेपाली साहित्य महासंघ साउथ युकेले फरवरी महिनामा मातृभाषा साहित्य उत्सव आयोजना गर्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघीय सांस्कृतिक निकाय युनेस्कोको आव्हानमा सन् २००० देखी विश्वभर वर्सेनी फरवरी २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाइदै आएको छ ।

महासंघले सोही अवसरमा उत्सव आयोजना गर्ने भएको हो । लण्डन बाट प्राप्त समाचार अनुसार महासंघले नेपाली समाजको साँस्कृतिक विविधता लाई साहित्य मार्फत् उजागर गर्न उत्सव गर्न लागेको हो । बेलायतमा फरवरीको तेस्रो आइतबार मातृभाषा साहित्य उत्सव आयोजना गर्न लागेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेका अध्यक्ष विजय हितानले बताए । उनका अनुसार जातीय बहुविविधताका सिर्जनाले मातृभाषाको साहित्यलाई प्रबद्र्धन गर्न उत्सवले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

महासंघको शनिबार बसेको तेस्रो बैठकले मातृभाषा उत्सवको संयोजकमा सचिव अमित थेवेलाई मनोनयन गरेको छ । उत्सवमा मदन पुरस्कार विजेता हालै नेपालमा गठित आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालका संयोजक राजन मुकारुङलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा गरिएको अध्यक्ष हितानले बताए । बैठकले जनवरी ३ मा आयोजीत मास्टर मित्र सेन थापा मगरबारे परिचर्चा संवाद अत्यन्तै सफल रहेको ठहर गर्दै आउँदो वर्ष अरु व्यापक सहभागीताका साथ आयोजना गर्ने निर्णय गरेको छ । त्यसैगरी, आउँदो नोभेम्बरमा १३ जना भिक्टोरिया क्रस पदक विजेता गोर्खाली सैनिकहरूलाई स्मरण गर्दै युद्ध साहित्य गोष्ठी गर्ने निर्णय पनि गरिएको सहसचिव लाहाङ चेम्जोङले बताए ।

मार्च महिनाको अन्तिम शनिबार संस्थाको स्थापना दिवसका अवसरमा गीतकार गणेश पुनद्वारा लिखित ‘बाटो’ गीति सङ्ग्रहको विमोचन गरिने निर्णय गरिएको छ । बैठकसँगै नियमित साहित्यिक श्रङ्खलामा गीतकार सेमन्त राईको गीत ‘उभौली’ माथि गणेश पुनले चर्चा गरे । गीतकार सुष्मा रुपाबुङ राईको गीत ‘एउटा यस्तो प्रेम कहानी’ माथि औतारी साइलाले आफ्नो धारण प्रकट गरे । विश्वजीत थापाले निर्देशन गरेको लघु चलचित्र ‘अलिखित’ बारे अमित थेवेले समीक्षा गरेका थिए ।-देवेन्द्र आलोक

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार