नेकपा ओली समूहले आफूसँग सय भन्दा बढी संसद् रहेको दाबी गरेको छ । सो समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेको उनको भनाइ छ ।

भट्टराईले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं ।’ संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उनले सुनाए । फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै उनले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने जानकारी दिए । प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने बताए ।

प्रचण्ड माधव समूह भन्छ सांसद् खरिद भए –

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै ओली पक्षले सत्तामा टाँसिरहने नियतका साथ सांसदलाई आफ्नो पक्षमा पार्न सुटकेशमा पैसा बोकेर हिँड्न थालेको आरोप लगाए । शनिबार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताए ।

उनले भने, ‘संसद पुनःस्थापनासँगै सबै चिज ठीकठाक र सरल हुन्छ भन्ने छैन । ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् । यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।’ उनले ओलीले अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने उनले बताए । अब नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने बताउँदै उनले भने , ‘मलाई पूरा विश्वास छ, नेपाली कांग्रेस, जसपा लगायतका राजनीतिक दलहरुले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार