तेरो गुट कुन हो ?
**************
हँसिया निलें बुझिस ? – मेरो फुर्ति !
हग्दा चाल पाउलास – मेरो नियति !!
नभन्दै त्यस्तै भो ! काङ्ग्रेसि जीवनको पहिलो क्षेत्रीय प्रतिनिधिको चिर्कटो निलेको हँसिया सरह भो ! निल्न त निलियो निकाल्न गार्‍हो !!
प्रतिनिधि चुनिए लगत्तै सगै चुनित बालसखाले सोध्यो – ए ! साच्चै तँ कुन गुटको हँ ?
कुन गुट्को हुनु नि ? म काङ्ग्रेस गुट्को !
ओठ लेपार्दै बोल्यो उ – हुन त हरेक हिसाबले बिशुको नजीक छस तर कृष्ण दाईको क्षेत्रमा तँ जस्तो छुचुन्द्रे प्रतिनिधि चुनिदा म छक्क परे ! दाई सग कुरो मिलाईस कि क्या हो ? दाईको गुट्मा आएको ?
‌ म दाईको गुट भन्दा बाहिर कहिले थिएँ र ? राम्रो काम गर्दा दाईको समर्थन गरेकै हो ! नराम्रो काम गर्दा आलोचना समेत गरेकै हो ! राम्रो गर्दा आलोक साप्ताहिकमा दाईको जाली अन्तरबार्ता छाप्ने हामी नै हैन र ? बिश्व प्रकाश प्रबक्ता हुँदा शेर बहादुरको पुजारी हैन काङ्ग्रेसको पुजारी बन्नु भन्दै शुभकामना दिने पनि मै हुँ !! ०४६ को आन्दोलनमा दाईको सक्रिय सकारात्मक भूमिकाको समर्थन गरेकै हो तर त्यसपछिको पुराना काङ्ग्रेस डिस्पोज गर्दै काङ्ग्रेस पतनको उहाँको कदमलाई चै समर्थन गर्न नसकेकै हो ! स्पष्टीकरण अघि बढाउदै बोले म – सहि कामको समर्थक र गलत कामको आलोचक हो म !! नेताको बिकारलाई अपुङ्गो मान्ने पक्षमा चै छैन म !! राम्रो काम गर्दा दाईको पनि हो भाईको पनि हो !! नराम्रो काम गर्दा दाईको पनि हैन भाईको पनि हैन !!!
अनि केन्द्रमा चै को त ? शेर बहादुर ? रामचन्द्र ? कि शेखर ? उसले चिमोट्न छोडेन !!! मेरो त शेखर हो ! उसले गुटको बिर्को खोल्यो !!! चियाको अन्तिम घुट्को लाएर हिंड्नुको विकल्प थिएन त्यसै गरें !!!
दाईलाई ल्याईयो नि ! मैले छोड्देको ज्ञानमणि दाईलाई !! एउटा भाईले श्रेय लिन खोज्यो !
‌हो भाई ! तिमिले नै छोड्देको हो ! चुनाव भएको भए तिमिहरुले नै मलाई खैनी ख्वाउने थियौ ! मैले श्रेयमाला उसैलाई भिराईदिएँ ! सत्य हो चुनाव भएको भए मलाई वार्डमै सहिद बनाउने थिए ! दुई दुई पटक क्षेत्रीय सभापति भएको मोहन सिंह कार्किलाई बोरामा हाल्नेको अघि एउटि बैनी द्वारा टुरिष्ट काङ्ग्रेसको पगरी भिर्दै ” टाङ्ग अड्याउन ” आएको आरोप खेपेको मेरो हैसियत के नै थियोे र ? म ०३६ सालमा जेल पस्दा आमाले नाक पुछिदिनु पर्ने उनी अहिले ” पिल्लर काङ्ग्रेस ” भैसकेकि रैछन !!
‌ दाईले क्षेत्रीय प्रतिनिधि सग कलम साट्नु भएको हो ? लेख्न छोड्नु भो नि ? नगर चुनावको दिन एउटा प्रीय भाईले जिज्ञासा राख्यो ! मैले केही दिन देखि फेसबुक बन्द गरेको तिमिलाई थाहै छ त भाई ! प्रतिनिधि चुनिने बित्तिकै काङ्ग्रेसको बिकृती सग सम्झौता गर्नुपर्ने हुन्छ र ? लेख्न त म छोड्दिन भाई ! बिकृतिको त लादी काड्ने हो !
‌ अर्को रमाइलो प्रसङ्ग जोडिन पुग्यो – घर नजिकै भेटिएको महाधिवेशन प्रतिनिधि आकांछि एउटा भाईले सोध्यो – दाई पहिल्यै देखिको काङ्ग्रेस हो ? मैले फिस्स हाँस्दै जवाफ दिएँ – तिमी च्याँ गर्दै जन्मेको होला म जय नेपाल भन्दै जन्मेको हो ! मेरो हजुरबुबा सात सालको क्रान्ति लडेको काङ्ग्रेस हो !
‌अनि ! तारा आन्टी तपाईंको को नि ?
‌मेरो काकी उहाँ !
‌अजिव नजरले हेर्दै बोल्यो भाई – ए !! पुरानो काङ्ग्रेस पो हुनु हुँदो रैछ है ?
‌आलोक साप्ताहिक ! भरत भुर्तेलको बारेमा तिम्रो घरका सदस्यलाई
‌ सोध न ! काङ्ग्रेसको बारेका धेरै थाहा पाउछौ !!
‌तपाईंहरुले पत्रीका पनि चलाउनु हुन्थ्यो र ?
‌अब चै मलाई यो बबुरो प्रती दया जागेर आयो ! जबर्जस्ति राजनीतिमा ल्याईएको उसलाई झापा काङ्ग्रेसको न ईतिहास थाहा छ न त बर्तमान नै ! भबिष्य त परै जाओस !! लैनो पाडो झै बिहान देखि बेलुका सम्म कुदेको कुदै छ ! रुख बढ्नु त परै जाओस् भएका बिरुवाको समेत सत्यानास !!
‌ सबैभन्दा बिरक्त त्यसबेला लाग्यो जब बिर्तामोडमा भेटिएको खतरनाक काङ्ग्रेस सग भेट भो !
‌भाई ! अस्ति बिशुको चुनावी कार्यक्रममा देखिएनौ नि किन ?
‌झापामा बिशुको गुट्मा लागेर राजनीति गर्न सकिन्छ र दाई ?? उल्टै प्रश्न गर्‍यो !
‌लौ ! कसरी बिसुको गुट भो ? काङ्ग्रेसको केन्द्रिय प्रबक्ताको कार्यक्रम पनि गुट्को हुन्छ र ? उसको कार्यक्रममा जादैमा उसकै गुट्को भईन्छ र ?
‌मन भएर पनि आउन सकिएन दाई ! प्रेसर छ हौ !
‌कस्तो प्रेसर ? कस्ले रोक्यो भाई ?
‌ कुरो बुझेकै छ नि दाई तपाईंले !! मैले भन्नै पर्दैन नि !
‌भाई बाटो लाग्यो !!
‌ कस्तो प्रेसर ? कस्को प्रेसर ? के को प्रेसर ??
‌अचम्म लाग्यो ! दिक्क समेत लाग्यो ! कोहि गुट सोध्ने छ्न ! कोहि काङ्ग्रेस कुण्डली खोज्ने बबुरा भेटिन्छ्न !! कतै टुरिष्ट काङ्ग्रेस भन्ने पनि भेटिन्छन अनि कोहि दाईको उर्दिले रोक्यो भन्ने समेत फेला पर्छन !
‌सोच्न बाध्य भएँ – कन्फ्युज भो ! दाई निषेधको राजनीति बोकेर यति तल झर्लान त ? हामी गुटमै झुण्डिनु पर्ने हो त ? काङ्ग्रेस मात्रै भएर बस्न पाईन्न र ?
‌हैन ! राष्ट्रीय राजनीतिको शिखरमा पुगेको दाई बाट यस्तो टोले राजनीति पक्कै हुन्न होला !! यस्तो आशा त के कल्पना समेत गर्न सकिन्न !! कतै दाईको नजिक हुन खोज्ने केहि हनुमान रुपि बाँदरहरु दाईलाई लंका दहनको बहानामा हरणमा परेकी सीता फिर्ता ल्याउने कोरा सपना देखाउदै अशोक बाटिका निर्मुल तिर त ब्यस्त छैनन ? दाईको सालिनताको फाईदा लुट्न तल्लिन त छैनन ? अपहरित सीता साच्चै फिर्ता ल्याउने हो भने पोलिटिकल डिप्रेसनमा परेर बारिको डिलमा पुगेका साच्चैका हनुमानको साथ लिनु जरुरी छ ! लंका दहन हनुमान बाट मात्र सम्भव छ ! बाँदर त हाँगा हल्लाउने मात्र हुन !!
‌अहिले काङ्ग्रेस राजनीतिमा सक्रिय तर काङ्ग्रेसको इतिहास पनि बर्तमान पनि नबुझेका दुधे बालकलाई काङ्ग्रेस भएको तिथिमिती बताउदै हिंड्नुपर्छ , अनि भातको जोहो गर्न केही समय गाउँ छोड्नु पर्दा टुरिष्ट काङ्ग्रेसको पगरी गुथ्न बाध्य हुनुपर्छ र काङ्ग्रेस हुन गुट्को पुच्छर समाउनै पर्छ भने माथी पुगेर शेर बहादुर नामकै गन्धे ढलमा मिसिन पुग्ने हो भने दाईको मेचिको पानीमा डुबुल्की मार्नु पनि छैन भाईको निन्दामा चोपलिनु पनि छैन !! दाईको गुट पनि चाहिएन भाईको गुट पनि चाहिएन!
‌काङ्ग्रेस राजनीतिमा झापा बाट उदाएका यी दुई ” टनेला ” आफैं सिक्वेन्स मिलाएर बाजी मार्न सफल हुन्छन् कि अरुलाई मिलाईदिने जोकर साबित हुँदै दुईको माल (एउटा मन्त्री ) मै चित्त बुझाएर बस्छन ? हेर्न बाँकी छ !! कामना गरौं – दुबै टनेलाले आफ्नो सिक्वेन्स यात्रा पूरा गरून् ! अरुका लागि जोकर नबनुन !!
‌ आफुलाई भने यो गुट्को चेपुवामा परेर क्षेत्रीय प्रतिनिधिको चिर्कटो निलेको हँसिया सरह भएको छ !! निल्न त निलियो निकाल्न कठिन हुँदैछ !!
‌ जय नेपाल !!!!

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार