चौधरी ग्रुप अन्तर्गतको सिजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा सुपर सस्तो प्याकेज सार्वजनिक गरेको छ।

प्याकेज अन्तर्गत ग्राहकले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन्। यसमा १३ प्रतिशत भ्याट र अन्य केही शुल्क रकम भने थप हुनसक्नेछ। सिजीका अनुसार यस्तो प्याकेज एक महिना, तीन महिना, छ महिना र एक वर्षका लागि उपलब्ध छ।

सिजी कम्युनिकेसन्स लिमिटेडले यसै वर्षबाट इन्टरनेट सेवा सञ्‍चालनमा ल्याएको हो। सुरूवाती चरणमा १२० एमबिपिएस गतिको प्याकेज मात्र दिएको कम्पनीले हालै ५० एमबिपीएसको प्याकेज पनि सार्वजनिक गरेको हो।

५० एमबिपिएसको तीन महिनाको प्याकेज लिन चाहनेलाई भने एक हजार ९ सय ४७ रूपैयाँ पर्नेछ। त्यस्तै छ महिनाको शुल्क तीन हजार ८ सय ९४ रूपैयाँ निर्धारण गरिएको छ। वार्षिक ग्राहकले सात हजार ७ सय ८८ रूपैयाँमा यो प्याकेज लिन सक्नेछन्।

कम्पनीले यसअघि नै प्रतिमहिना ९९९ रूपैयाँमा १२० एमबिपिएस गतिको इन्टरनेट वितरण गरिसकेको छ।कम्पनीका अनुसार यी प्याकेज लिन चाहने ग्राहले जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सक्नेछन्।

अहिलेको बजारमा सिजीले सबभन्दा कम मूल्यमा इन्टरनेट सेवा दिन थालेको छ। सिजीले बजारमा नौ सय ९९ रूपैयाँमा १२० एमबिपिएस गतिको इन्टरनेट दिँदाखेरी नै यसले बजारमा चर्चा पाएको थियो। यसअघि यति कम मूल्यमा ग्राहकले प्रदायकबाट इन्टरनेट पाएका थिएनन्।यही क्रममा सिजीले अहिले ५० एमबिपिएस गतिको इन्टरनेट अझै कम मूल्यमा ल्याएको छ। त्यस्तै विभिन्न सुविधा निःशुल्क दिएर सिजी बजार विस्तारमा आक्रामक भइरहेको छ।

तर सिजीको इन्टरनेट सीमित ठाउँमा मात्र उपलब्ध छ। हाल काठमाडौं, भक्तपुर र ललितपुरका केही ठाउँमा मात्र यो चल्छ। कुन कुन ठाउँमा छ भनेर कम्पनीको वेबसाइटमा गएर नक्सा हेर्न सकिन्छ।अहिले सिजीले दिएको गतिकै हाराहारीमा अरू कम्पनीको इन्टरनेटको शुल्क करिब दोब्बर बढी छ। तर केही कम्पनीले दिएको प्याकेजमा इन्टरनेट टिभीको र निःशुल्क उपकरणहरूको सुविधा पनि छ।

जस्तै भायनेटले ४५ एमबिपिएस गतिको इन्टरनेट प्रतिमहिना एक हजार पाँच सय ५० रूपैयाँमा दिइरहेको छ।

त्यस्तै डिस होमको डिएच इन्टरनेटले ६० एमबिपिएस गतिको इन्टरनेट प्याकेज एक हजार ७ सय ५० रूपैयाँमा दिइरहेको छ।

वर्ल्डलिंकले भने ६० एमबिपिएसको प्रतिमहिना दुई हजार २ सय रूपैयाँ लिने गरेको छ।

सुबिसुले ५० एमबिपिएस गतिको इन्टरनेट प्रतिमहिना एक हजार एक सय ९५ रूपैयाँमा दिइरहेको छ।

क्लासिक टेकले पनि ५० एमबिपिएस प्रतिमहिना एक हजार एक सय ५५ रूपैयाँमा दिइरहेको छ।

यी शुल्कमा पनि भ्याट र अन्य थप शुल्क लाग्न सक्नेछ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार