• रमेस सापकोटा 

काठमाडौं । कांग्रेसमा १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला निर्णायक हुँदा पार्टी नेतृत्व शेरबहादुर देउवाको हातमा पुगेको थियो । पहिलो चरणमा सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदा कुनै उम्मेदवारले पनि बहुमत प्राप्त गर्न सकेका थिएनन् । दोस्रो चरणमा सिटौला निर्णायक हुँदा सभापतिमा देउवाले बाजी मारेका थिए ।

तत्कालीन संस्थापनसँग भए पनि आफूलाई बेवास्ता गरिएको भन्दै आफूलाई तेस्रो धारका रुपमा उभ्याएका उनै सिटौला १४ औं महाधिवेशनमा पनि फेरि निर्णायक हुने प्रदेश अधिवेशनको नतिजाले देखाएको छ l

अहिलेसम्म सातमध्ये ६ प्रदेशमा कांग्रेस प्रदेश अधिवेशनको नतिजा आएको छ । जसमा संस्थापनले चार र पौडेल पक्षले दुई प्रदेशमा जितेका छन् । संस्थापनले कर्णाली, सुदुरपश्चिम, वाग्मती र प्रदेश १ मा जितेको छ । परम्परागत पकड रहेका कर्णाली र सुदूुरपश्चिममा संस्थापन देउवा पक्षको जितलाई स्वभाविक मानिएको छ । तर, पूर्वसंस्थापनको पकड रहेको प्रदेश १ र वाग्मतीमा पनि संस्थापन र सिटौला पक्षले जित्नुलाई निक्कै अर्थपूर्ण मानिएको छ ।

किनकि, प्रदेश १ मा पौडेल पक्षका प्रभावशाली उम्मेदवार युवा नेता गुरुराज घिमिरे पराजित हुन पुगे । कोइरालाहरूको परम्परागत आधार क्षेत्र रहेको प्रदेश १ मा संस्थापनका नेता उद्धव थापा जित्नुले महाधिवेशनकै समीकरणलाई फरक पार्ने बताइन्छ । बलियो पकड रहेको प्रदेश १ मा घिमिरे थापासँग जम्मा २ भोटले हार्न पुगे । गुरुलाई जिताउन डा. शेखर कोइरालासहितका नेता राम्रो प्रयत्न गरे पनि सफल भएनन् । तर सभापतिसहितका पदाधिकारीमा संस्थापनले बलियो उपस्थिति देखाएपछि पूर्वसंस्थापन दबाबमा आएको छ ।

तुलनात्मक रुपमा संस्थापन देउवा प्रदेश १ र वाग्मतीमा कमजोर हुन् । तर, आफू कमजोर रहेको क्षेत्रमा देउवाले सिटौलासँग तालमेल गरेका छन् । प्रदेश १ मा सिटौला पक्षकै उद्धव थापालाई देउवाले समर्थन गरिदिए । वाग्मतीमा सिटौला पक्षलाई साथ लिएर इन्द्र बानियाँलाई जिताउन सफल भए । पूर्वसंस्थापन प्रदेश १ र वाग्मती आफ्नो परम्परागत आधार क्षेत्र रहेको भन्दै ढुक्कले बस्दा संस्थापनले रणनीतिक चाल चालेर जितसम्म मात्रै पुगेन महाधिवेशनमा जित्ने आधारसमेत दियो ।

‘१३ औं महाधिवेशनमा पनि हामीलाई नजरअन्दाज गर्दा कस्तो नतिजा आयो सबैले देखेका छन्’ सिटौला निकटका नेताले नेपालवाचसँग भने, ‘१४ औं महाधिवेशनमा पनि प्रदेश १ र वाग्मतीको नतिजाले सिटौला नै निर्णायक हुन् भन्ने आधार प्रशस्त दिएको छ । जुन महाधिवेशन अघिको कांग्रेसको चित्र पनि हो ।’ वाग्मतीमा दोस्रो चरणमा सिटौला पक्षका भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई भोट हालेका थिए । जसले बानियाँलाई सहजै जितायो ।

कांग्रेसमा संस्थापन र इतर दुई ठूला समूह छन् । तर, जितहारमा यही तेस्रो धार निर्णायक हुने देखिएको हो । किनकि, तेस्रो धारका रुपमा सिटौलाले आफ्नो समूहलाई उभ्याउने कोशिश गर्दै आएका छन् ।

यसअघि, गगन थापा सिटौला समूहमा थिए तर उनी अहिले पूर्वसंस्थापनतिर ढल्किएका छन् । अझै पनि प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधानसहितका नेता सिटौलाका पक्षमा प्रष्टै खुलेका छन् । केही प्रभावशाली नेताको बलमा सिटौला फेरि निर्णायक हुने देखिएका हुन् ।

१३ औं महाधिवेशनदेखि १४ औं महाधिवेशनको जिल्ला र प्रदेश अधिवेशनको नतिजाले यही देखाएको छ । यसैले २४ मंसिरदेखि हुने महाधिवेशनमा पनि सिटौला फेरि निर्णायक देखिएका हुन् । उनलाई विश्वासमा लिन सक्ने पक्ष नै हावी हुने देखिएको छ । सिटौलाले अहिलेसम्म कुन पदमा दाबी गर्ने भनेर मुख खोलेका छैनन् ।

६ मध्ये चार प्रदेशमा संस्थापनले सभापति जित्नुलाई महाधिवेशन अघिको एउटा एउटा महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छ ।  

किनकि, क्षेत्रीय अधिवेशनबाटै कांग्रेसमा महाविधेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिने हुन् । सबै महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनका प्रतिनिधि पनि हुने हुनाले प्रदेश अधिवेशनलाई मिनि महाधिवेशनको रुपमा पनि हेरिएको छ । यस्तोमा प्रदेश २ को अधिवेशनको नतिजा नआउँदै संस्थापनले ६ मध्ये चार प्रदेश जित्नु र पूर्वसंस्थापनको पकड रहेको क्षेत्रमा पनि हाबी हुनुले देउवा अझै पनि शक्तिशाली रहेको देखाउँछ । यस्तोमा पूर्वसंस्थापनमाथि अबको एक हप्तामा मिलेर अघि बढ्नुपर्ने र रणनीतिक कदम चाल्नुपर्ने चुनौती थपिएको छ । यता संस्थापनलाई भने सिटौलालाई झनै विश्वासमा लिएर महाधिवेशनमा जित्ने गरी अघि बढ्नुपर्ने चुनौती देखिएको छ ।

के छ देउवा पक्षको हिसाब ?

प्रदेश २ का आठवटै जिल्लामा संस्थापन देउवाको पकड छ । उपसभापति विमलेन्द्र निधिले पनि यहीबाट प्रतिनिधित्व गर्छन् । निधिलाई विश्वासमा लिएर अघि बढ्न सके देउवाले प्रदेश २ मा पनि आफूलाई बलियो बनाउन सक्नेछन् । ३२ वटा निर्वाचन क्षेत्र भएको प्रदेश २ महाधिवेशनमा निर्णायक हुने देखिन्छ । यी जिल्लामा पौडेल पक्ष निक्कै कमजोर छ । यस्तोमा निधिलाई विश्वासमा लिन सक्दा देउवाले प्रदेश २ मा बलियो पकड बनाउन सक्नेछन् ।

अन्तिममा देउवासँग निधि भड्किए पनि पौडेल पक्षलेसमेत प्रदेश २ बाट फाइदा उठाउने देखिन्छ । यद्यपि, प्रधानमन्त्री रहेका देउवासँगै कांग्रेस प्रदेश २ को मूलधार रहेको बताइन्छ । प्रदेश २ का ३२ निर्वाचन क्षेत्रबाट ८ सय महाधिवेशन प्रतिनिधि छानिन्छन् । अहिलेसम्म ३२ मध्ये २७ क्षेत्रमा अधिवेशन भइसकेको छ । ४ प्रदेशमा जितेको संस्थापनले प्रदेश २ मा पनि जित्यो भने महाधिवेशनमा आफू निक्कै बलियो रहेको प्रष्टै सन्देश दिनेछ । प्रदेश अधिवेशनलगत्तै अब एक हप्तामा महाधिवेशन हुँदा यसको फाइदा देउवाले उठाउन सक्नेछन् ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्रको सबैको भावनालाई प्रतिनिधित्व गर्न सक्दा नै सभापतिले प्रदेशमा बलियो उपस्थिति देखाएको बताए । 

‘सभापति देउवाको पक्षमा सकारात्मक नतिजा देखिएको छ । पार्टीलाई एक बनाएर लानुपर्छ भन्ने सन्देश यी नतिजामा देखिन्छन्’ महतले नेपालवाचसँग भने, ‘राष्ट्रिय रुपमा देउवालाई गठबन्धनको प्रधानमन्त्रीको रुपमा सबैले स्वीकार्ने देखियो । पार्टीमा पनि सभापतिले सबैलाई मिलाएर अघि बढ्न खोज्दाको परिणाम आएको छ ।’

यो पक्ष त्यो पक्ष नभनी सबैलाई मिलाएर लान सक्ने क्षमता नै देउवाको ‘स्ट्रेन्थ’ भएको महत बताउँछन् । 

‘पार्टी एक बनाएर लानुभएको छ, आफूले प्रतिक्रिया नदिने तर अरुको कुरा सुन्ने, मान्दिने स्वभाव देउवाको छ’ महत भन्छन्, ‘यस्तो खालेको नेतृत्व पार्टीलाई चाहिएको छ । उहाँको स्ट्रेन्थ उदार हुने सबैलाई मिलाउने, आफू वाद विवादमा नउत्रिने, कुरा सुन्ने हो । यसकै नतिजा जिल्लादेखि प्रदेशसम्मको अधिवेशनमा आएको छ ।’

गुटबन्दीबाट माथि उठेको सन्देश देउवाले दिएको पनि महतले बताए ।

‘प्रदेश १ र वाग्मतीमा धेरै मेहनत गरेका छौं । सबैलाई समेटेर लाने प्रयत्न गरेका हौं । किनकि, कांग्रेस अर्को पार्टी होइन । आन्तरिक प्रतिस्पर्धा भए पनि सबैलाई जोड्यौं यो पक्ष त्यो पक्ष भनेनौं’ महतले भने, ‘हाम्रो टिममा नभएका भनेर बेवास्ता गरेनौं । सबैलाई जोड्यौं । कसैलाई पनि उपेक्षा गरेनौं । यसैको नतिजा हामीले पाएको छौं । प्रदेश २ बाँकी छ । यो त झन् हाम्रो राम्रो र बलियो पकड भएको क्षेत्र हो । यहाँ हामी झनै शक्तिशाली भएर आउँछौं । महाधिवेशनमा सफल हुन्छौं ।’

१३ औंमा यसरी निर्णायक भएका थिए सिटौला

१३ औं महाधिवेशनमा पहिलो चरणमा ३१४८ मत खसेको थियो । विधानअनुसार खसेको मतको ५० प्रतिशत नआएपछि पुनः मतदान भएको थियो । पहिलो चरणमा देउवाले १५६४, पौडेलले ११६० मत प्राप्त गरेका थिए । तेस्रो समूहबाट सिटौलाले ३२४ मत ल्याएका थिए ।

कसैको पनि बहुमत नपुगेपछि २०७२ फागुन २४ मा देउवा र पौडेलबीच पुनः सभापतिको लागि प्रतिस्पर्धा भएको थियो । जसमा सिटौला नै निर्णायक देखिँदा देउवा १८८२ मत ल्याएर विजयी भएका थिए । पराजित पौडेलले १२९६ मत पाएका थिए ।

पहिलो चरणमा जम्मा ११ मतले सभापतिमा चुकेका देउवाले दोस्रो चरणमा ३१८ मत बढाएका थिए । दोस्रो चरणमा पौडेललाई ५८६ पराजित गरेका थिए । पौडेलले भने जम्मा १३६ मत मात्रै बढाउन सकेका थिए ।

१३ औं महाधिवेशनमा सिटौलामा सभापतिमा, गगन थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्षमा उठेका थिए । केन्द्रीय सदस्यमा भने सिटौला पक्षले उम्मेदवारी दिएको थिएन । नेपाल वाचबाट साभार

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार