झापा / पूर्वी नेपालमा भारतबाट अवैध औषधि भित्राउने इलामको सूर्योदय नगरपालिकास्थित पशुपतिनगर र हिले नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। इलामबाट झापा ल्याउँदै गरेको ठूलो परिणामको अवैध औषधि झापा प्रहरीले बुधबारेबाट बरामद गरेसँगै पशुपतिनगर र हिले नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न पुगेको पुष्टि भएको हो।

सोही नाकाबाट भित्रिएको २८ पोका अर्थात् करिब ८० लाख मुल्य बराबरको अवैध औषधि सशस्त्र प्रहरीले गत मङ्सिर १८ गते बरामद गरेको थियो। इलामबाट झापातर्फ आइरहेको छुर्पी र घ्यूको बोकेको मे १ च ६८३३ नम्बर पिकअप गाडीमा अवैध औषधि आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ६ बजे मेची राजमार्गको बुद्ध शान्ति गाउँपालिका-४ बाट सो गाडीलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको गाडीलाई चेकजाँच गर्दा छुर्पी र घ्यूको बोराले छापेर राखिएको भारतीय ब्रान्डका विभिन्न किसिमको अवैध औषधि फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। औषधिसहित प्रहरीले गाडी चालक सूर्योदय नगरपालिका(३ बस्ने ३० वर्षीय सइन्द्र राईलाई समेत नियन्त्रणमा लिएको छ।

प्रहरीले बरामद गरेको औषधिहरू ट्रामाडोल हाइड्रोक्लोराइड केप्सुल ५० एमजीको ४८ हजार ७९० पत्ता, जीगोल्ड जिलेटिन केप्सुल ३०० पत्ता, जिनकोकेट २०० पत्ता, केटी ५ डिरम ७०० पत्ता, गल्फडेरी ४५६ बोतल, जेनग्रा रेड ८ हजार ८४० पत्ता, लैबडिक रिलिफ २०० पिस, इन्टरकोनजील केप्सुल ५९० पत्ता, इंस्टाजिन १८०० पत्ता र पाराबुस्ट १६०० पत्ता रहेको छ। बरामद गरिएको औषधिको मुल्य ६९ लाख ७७ हजार ९४४ रुपैयाँ र गाडीको मुल्य ८ लाख गरी जम्मा ७७ लाख ७७ हजार ९४४ रुपैयाँमा मुल्याकंन तोकेर थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको डिएसपी पाठकले बताए।

तस्कर समूहले इलामको हिले नाकाबाट सो औषधिहरू भित्राएको हो। त्यसपछि त्यहाँ भण्डारण गरी समय अनुकूल मिलाएर बौद्ध धाम, फिक्कल हुँदै झापाका बजारसम्म ल्याउने गरेको स्रोतको दाबी छ। अहिले सो नाकाबाट औषधि मात्र नभई अन्य सरसामान पनि तस्करीको माध्यमबाट भित्रिरहेको जनाइएको छ।-कमला भट्टराई

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार