दुवई गएर अलपत्र परेका तीन जना युवालाई व्यवसायी दुर्गा प्रसाईले उद्धार गरेर स्वदेश ल्याएका छन् । दाङ, तुलसीपुरका गोविन्द केसी–२३, नवलपरासी गैडाकोट, १६ का सन्दीप तिमिल्सिनना–२७ र खोटाङ वोयङका चन्द्रबहादुर बुढाथोकी–३० लाई प्रसाईले उद्धार गरेर आज १० भदौमा स्वदेश ल्याएका हुन् । प्रसाईले उद्धार गरेर ल्याएका युवाहरुका अनुसार उनीहरु लामो समयदेखि दुवईमा अलपत्र थिए ।

खोटाङका बुढाथोकीबाट २ लाख सात हजार रुपैयाँ लिएर दलालले नौ महिना अघि ‘भिजिट’ भिषामा दुवई पुर्याएका थिए । आर्थिक अवस्था निकै दुरावस्थामा रहेका बुढाथोकीले कमाउन पाउने आसमा ऋण काढेर दलाललाई पैसा बुझाएका थिए । दुवई उडाउनु अघि दलालले उनलाई खान, बस्न सहित मासिक १३ सय दिराम (ने.रु, ४५ हजार) तलव हुन्छ भनेका थिए । तर, उनले त्यहाँ गएर एक दिन पनि काम गर्न पाएनन् ।

भिजिट भिषामा लैजाने दलालहरुको समूहले उनलाई दुवईको सारजा पुर्याएर आज काम पाईन्छ, भोलि काम पाईन्छ भन्दै डेड महिना एउटा कोठाभित्र राखे । त्यसपछि सारजाबाट अलकुज भन्ने ठाउँमा लगेर पाँच महिना राखे ।

उद्धार गर्नु अघि दुवईमा अलपत्र तीन युवा

बुढाथोकीका भनाइमा त्यसपछि उनलाई त्यहाँ पुर्याउनेहरु फरार भए । “मलाई त्यहाँ पुर्याउनेहरु वेपत्ता भएपछि सडकमा अलपत्र परे । दुवईका सडकमा भोक–भोकै सुतेर बिताएँ । धेरै जसो समयमा त पानी पनि खान पाईन । दुर्गा प्रसाईले नभेट्नु भएको हुन्थ्यो भने यसबेलासम्म हामी ज्यूँदो रहदैनथ्यौं होला”, सोझो स्वभावका बुढाथोकी भन्छन्, “मेरा लागि भगवान नै भएर दुर्गा प्रसाईले उद्धार गरिदिनु भयो । तर, अब घर गएपछि ऋण कसरी तिर्ने रु सोच्दा पनि बेथामा बाँचिएछ जस्तो लाग्छ ।”

बुढाथोकीको घरमा बाबु, श्रीमती र साना दुई छोरा छन् । उनले दुवई उड्न साहुसँग लिएको ऋण एक रुपैयाँ पनि तिर्न सकेका छैनन् भने महिनौदेखि घर परिवारसँग सम्पर्क टुटेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिएपछि भने उनले घरमा फोन गरेर सम्पर्क जोडेका थिए ।

नवलपरासी गैडाकोटका तिमिल्सिना प्लस टु पास गरेर घरमै बसिरहेका थिए । दुवईमा राम्रो काम पाईन्छ भनेर त्यसअघि नै त्यहाँ पुगेका उनका साथीले फोनमा सुनाए । उनको पारिवारिक अवस्था सामान्य थियो । भाई पढिरहेका थिए भने बाबु–आमा कृषिमा आश्रित थिए । साथीले नै भिजिट भिसा पठाई दिएपछि उनी धन कमाएर परिवारमा सुख र खुशीका दिन ल्याउन डेड वर्ष अघि दुवई उडे । जहाजको टिकटका लागि उनले ८५ हजार तिरेका थिए भने त्यहाँ पुगेर एक हजार डलर बुझाएका थिए । तिमिल्सिनाले फिलिपिनोको ‘सप्लाई’ कम्पनीमा काम पनि पाए । एक वर्षसम्म काम राम्रै थियो ।

तर, पछिल्लो चार महिना यता कम्पनीले उनलाई तलव दिन छाड्यो । यसपछि उनी कोठाबाट सडकमा आई पुगे । “मलाई साथीले फसाउन भिषा पठाई दिएको थिएन । राम्रै सोचेर भिषा पठाई दिएको थियो । सुरुमा राम्रै पनि भयो”, उनी भन्छन्, “तर,कम्पनीले चार महिनासम्म तलव नदिएपछि म कोठा छाड्न बाध्य भए । त्यसपछि सडकमा भोकभोकै सुत्न बाध्य भएको थिएँ । एक महिना अघि दुर्गा प्रसाईले सडकमै भेटेपछि होटलमा बस्नेरखाने व्यवस्था गरिदिनु भयो । गर्मीले शरीर सबै पाकेको थियो । औषधी उपचार गरि दिनु भयो । उहाँले नै नेपाल ल्याई दिनु भयो ।”

दाङका केसी गएको होलीको समयमा साढे चार लाख रुपैयाँ तिरेर भिजिट भिषामै दुवई गएका थिए । केसीका शब्दमा उनलाई नेपालबाट गजेन्द्र बोहोरा नामका दलालले उडाएका थिए भने दुवईमा लक्ष्मण गुरुङले अलपत्र बनाएका थिए । “दलालले तीन महिना एउटा कोठामा राखे । त्यसपछि भिषा सकिन १० दिन बाँकी हुँदा उनीहरु फरार भए । यसपछि म त्यहाँ अलपत्र परेको थिएँ”, उनी भन्छन्, “एक महिना अघि दुर्गा प्रसाईले भेटेपछि मात्र बाँच्ने आश पलायो । उहाँले नै खानेरबस्ने व्यवस्था गरि दिनु भयो । र, अहिले नेपाल ल्याई उतारी दिनु भयो ।”

प्रसाईले उद्धार गरेपछि मात्र तीन जना युवाहरुबीच एक अर्कामा चिनजान भएको उनीहरुको भनाइ छ । दुवईमा उनीहरुको विजोक देखेपछि मानवीय कर्तव्य पुरा गर्न आफूले उनीहरुलाई सहयोग गरेर स्वदेश ल्याएको प्रसाई बताउँछन् । झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रसाई भन्छन्, “म एमाले भएर, कुनै राजनीति गर्न उनीहरुलाई सहयोग गरेको होइन । दुवईमा उनीहरुको बिजोक हेर्न नसकेर मानवताको नाताले सहयोग गरेको हुँ ।”

यसअघि पनि प्रसाईले दुवईमा दुर्घटनामा परी कोमामा पुगेकी महिलालाई उद्धार गरेर ल्याएका थिए भने त्यहाँका अस्पतालमा अलपत्र दुई वटा शव ल्याइसकेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार