नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै भनाभन भएको छ । अखिल क्रान्तिकारीले चुनावलक्षित अखिल फोर्स गठन गरेको कार्यक्रममा सुरुमा बोलेका जनार्दनले आफूले नेतृत्व र नीतिको रक्षा गरेको बताएका थिए । उनले उपमहासचिव पद अस्विकार पनि गरेका थिए । उनले सम्बोधनको क्रममै आफू संगठन विभागको प्रमुखको रुपमा बोल्न आएको बताएका थिए ।

कार्यक्रममा जनार्दनले महासचिव नबनाईएकोमा घुमाउरो पारामा अध्यक्ष प्रचण्डमाथि आक्रोश पोखेका थिए । उनले भनेका थिए,‘हामीले लाइनको कुरा सुनेर संगठनमा निर्णय गर्ने होइन । स्वार्थ पूर्ति गर्न नेतृत्वलाई बहकाउन सक्छन् कसैले । म नीति र नेतृत्वलाई सधैँभरि रक्षा गर्ने मान्छे हुँ । सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । म त अध्यक्षको कडा आलोचक पनि मै हुँ र सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे पनि मै हो ।’

शर्माले आक्रामक अभिव्यक्ति मात्रै दिएनन् । उनले अध्यक्ष प्रचण्डसँग त्यही मञ्चबाट जवाफको पनि अपेक्षा गरेका थिए । उनले भनेका थिए,‘अध्यक्षले यही मञ्चमा उभिएर अहिले यसको जवाफ दिनुहोला । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्दैन । नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको कडा आलोचक हुँ,आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा गर्छ,चाकडीले होइन । आलोचनाले नेतृत्वको रक्षा गर्छ चाकडीले होइन ।’

जनार्दनले बोलिसकेपछि प्रचण्डले सम्बोधन गरेका थिए । उनले आफूले नै जनार्दनको विकास र रक्षा गरेको जवाफ फर्काए । उनले भने,‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो, यो पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा । म म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा बुझ्न जरुरी छ । उनको रक्षा र विकास गर्न पनि प्रचण्डले मुख्य भूमिका खेलेको छ । म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ । शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्व गरेँ । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि त धेरै चीज भएकै छ । मेरो चाहना राम्रा उत्तराधिकारीहरू आउन्,नेतृत्व गरुन्,हाम्रो विरासत र हाम्रो परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढुन् भन्ने हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार