हल्दिबारी, २७ भदौ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई इमेलमार्फत राजीनामा पत्र पठाउनु भएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हाल कुवेतमा रहनुभएका प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा कार्यसमितिको बैठकले थप निर्णय गर्ने छ । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको घोषणा गर्नुभएको छ । नेपालको मुख्य प्रशिक्षक सम्हालेको पाँच सय २५ दिनपछि उहाँले राजीनामा दिनुभएको हो । “नेपाली फुटबल सेवाको पाँच सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

एन्फाले २०७७ चैत २२ गते एक वर्षका लागि अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसपछि अलमुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षका लागि नयाँ सम्झौता भएको थियो । अलमुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनशिपको फाइनल खेलेको थियो । गत असोजमा माल्दिभ्समा भएको उक्त च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

यसैगरी नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरणसमेत खेलेको थियो । गत वैशाख १३ गते अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उहाँ विवादमा तानिनुभएको थियो । अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडी बीचको विवाद समाधानका लागि एन्फाले छानबिन समितिसमेत गठन गरेको थियो ।

अलमुताइरीको अनुपस्थितिमा एन्फाले केही समयअघि मात्र मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । नेपालले आगामी असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशसँग उक्त मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार