तिमीलाई मृत्युबाट जोगाउन
हरेक पल मैले छातीमा गोली थापेँ
जंगलमा हिड्दा काँडाले नघोचोस भनेर
अघिल्तिर काँडाहरु पन्छाउँदै
मृत्युको प्रवाह नगरी हिँडिरहेँ
जँघार तर्दा चिप्लिएर लड्छौ भनेर
सकिनसकी अँगालो हालेर बोकेँ
आफू पानीमा रुझ्दै छाता ओढाएँ
तिमीलाई जाडोले नछोओस् भनेर
तिम्रो शरीर न्यानो पार्न
म धेरै पल्ट नाङ्गिएको छु
तिम्रो निन्द्रा नखलबलियोस भनेर
म धेरै रातहरु अनिदो बसेको छु

हो नेता जि मैले तिम्रा हर आज्ञाहरू
बफादार भएर पालना गरेँ
अघि बढ भन्यौ अघि बढेँ
पछि हट भन्यौ पनि पछि हटेँ
तिम्रो काल बनेर आउनेहरुलाई ढाल बनेर रोकेँ
आफ्नै छोरो आँखै अगाडि वीरगति प्राप्त गर्दा
तिमी लाई नै हेरेर चित्त बुझाएँ
मृत्यु सैयामा लडेकी आमाले
अन्तिमपटक मुख हेर्न बोलाउँदा
तिम्रो मुख हेरेर रणमैदानमा खटिएँ
मृत्यु लाई चुनौती दिँदै गोला र बारुदहरुसँग लड्दै
दुश्मनहरूको छाती टेकेर हिँडिरहेँ हिँडिरहेँ

मैले कहिल्यै मेरो परिवार भनिन
मैले कहिल्यै मेरो बालबच्चा भनिन
किनकि तिमीले देखाएका सपनाहरु
मेरो मानसपटलमा सजिव बनेर आउँथे
मलाई तिमीमा ठूलो बिस्वास र भरोषा थियो
मेरो देश एक दिन स्विजरल्याण्ड बन्ने छ
मेरो देश एक दिन सिङ्गापुर बन्ने छ
ती त सबै भ्रमहरुमात्रै रहेछन्
ति त सबै खोक्रा आदर्शका कुराहरु मात्रै रहेछन्
आज ति युद्धका घाउहरू पिलो बनेर चस्किरहेछन्
मेरो देश आज स्विजरल्याण्ड होइन, फिजी पो भएकोछ
हेर्दा हेर्दै मेरो देश विदेशीको क्रिडा स्थल पो भएकोछ

नेता जि तिमीले तिम्रा ति निहित स्वार्थका लागि
लाखौं नेपालीलाई बलिको बोको मात्र बनाएनौ
देशै बन्धकी राखेर सत्ता लिप्सामा चुर्लुम्म डुब्यौ
हो तिमी त साँच्चै भ्रष्टचारी र तस्कर मात्र होइन
तिमी त साँच्चै पाखण्डी रहेछौ
मलाई राम्रो थाहा छ तिम्रो विगत र वर्तमान
इतिहास साक्षी छ
तिम्रा ति गगनचुम्बी आलिसान महलहरु कसरी ठडिए रु
तिमी ढाक्न नखोज तिम्रा काला कर्तुत हरुलाई
मलाई राम्रो थाहा छ
तिम्रा ती महंगा विलासिताका साधनहरू कसरी जोडिए रु

भो अब मलाई ति तिम्रा खोक्रा आश्वासन र
आदर्शका कुराहरु गरेर ढाट्ने कोशिष नगर
फेरि अर्को झुटको खेति नगर
मलाई मेरो हो भन्ने घृष्टता नगर
मेरो स्वतन्त्रता माथि फेरि खेल्ने कोसिष नगर
भो पुग्यो अब सुन्नु छैन तिम्रा ति नौटंकीहरु
कान खेलेर सुन तस्करहरु
आजैदेखि, किमार्थ तिम्रो दासत्व स्वीकार्य छैन।

( सायद यो हरेक नेपालीहरुको भोगाइ हुन सक्छ)

– याम दंगाल सरोवर
हल्दिबारी झापा नेपाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार