बिर्तामोड, कार्तिक २२। मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले  सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् ।
नागरिक अगुवा संस्थाका प्रतिनिधिको मंगलबार बिर्तामोडमा सम्पन्न वैठकपछि भयरहित वातावरण र निर्वाध रुपमा मतदान गर्न पाउने आम मतदाताको अधिकार प्रत्याभूतिका लागि अपिल जारी गरिएको जनाइएको छ ।
निर्वाचन सम्पन्न गर्न नागरिक समाजको पनि अहम् भूमिकाको आवश्यकतालाई आत्मसात र दायित्वबोध गर्दै निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता नागरिक तहबाट व्यक्त गरिएको छ ।
राजनीतिक दल तथा उम्मेद्वारहरुबाट आचारसंहिताको उल्लंघन भइरहेका विषयप्रति चिन्ता र सरोकारवालाको ध्यानाकर्षण गर्दै नागरिक समाजका प्रतिनिधिले अपिलमा उल्लेखित विषयको पालना र व्यवस्थापन गर्न आग्रह गरेका छन् । आचारसंहिता कार्यान्वयनको अवस्था समीक्षा गरी भेटिएका तथ्य नागरिक समाजको तर्फबाट सार्वजनिक गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
संवाद समूह झापाको संयोजनमा भएको वैठकमा सरकारी–गैरसरकारी क्षेत्र, राजनीतिक दल तथा उम्मेद्वारहरु सहितका सरोकारवालाले यसअघि सार्वजनिक रुपमा गरेका प्रतिवद्धता कार्यान्वयनका लागि पनि नागरिक समाजको तर्फबाट  ध्यानाकर्षण गराइएको छ ।
वरिष्ठ अधिवक्ता एवं नेपाल कानून आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासीसहित १८ नागरिक अगुवा संस्थाका प्रतिनिधिले हस्ताक्षर गरी अपिल जारी गरेका हुन् ।
मतदाता प्रभावित गर्न मतदानस्थल वरपर हुने भोजभतेर पूर्णतः बन्द गर्न गराउन अपिल गरिएको छ । साथै, निर्वाचन खर्च पारदर्शी र मितव्ययी बनाउन र खर्चको स्रोत खुलाउन दल तथा उम्मेदवारहरुलाई आग्रह गरिएको छ ।
आम मतदातालाई मंसीर ४ गते समयमै आफ्नो मतदान केन्द्रमा पुगेर स्वतन्त्ररुपमा आफूले रोजेको उम्मेद्वारलाई मतदान गर्न नागरिक समाजले अपिल गरेको छ ।
अपिलमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) झापाका संयोजक डा. रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, गैर सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरि गौतम, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले हस्ताक्षर गरेका छन् ।
त्यस्तै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली, नेपाल शिक्षक महासंघ झापाका सचिव तोयानाथ दाहाल, प्याब्सन झापाका सचिव हरिकृष्ण पाठक., एनप्याब्सन झापाका कोषाध्यक्ष मोहन आचार्य, नेत्रहीन संघ झापाकी अध्यक्ष सृजना बराल, एबीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला,  नेत्रहीन युवा संघका अध्यक्ष दिलकुमार राजवंशी, इन्सेक झापाका प्रतिनिधि नरेश खाती, मारवाडी सेवा समिति बिर्तामोड अध्यक्ष मोहन मित्तल, मेची काली बुहारी आवाजकी अध्यक्ष शिखा खड्का गणेशले अपिलमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ नागरिक समाजको ११ बुँदे अपिल
१) २०७९ मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका दिन समयमै मतदानस्थल पुगेर स्वतन्त्र रुपमा मतदान गर्न आम मतदाताहरुमा अपिल गर्दछौं । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मर्यादित, विश्वसनीय, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको सबैले पालना गर्न र सामाजिक सञ्जाल समेतमा आचारसंहिता विपरीतका कार्यहरु नगर्न÷नगराउन अपिल गर्दछौं । साथै, निर्वाचन आचारसंहिताको पालनामा सबै सरोकारवालालाई खबरदारी गर्दै आचार–संहिता उल्लंघन भएको पाइए तत्काल सरोकारवाला निकायमा खबर गर्न आम नागरिकमा अपिल गर्दछौं । आचारसंहिता कार्यान्वयनको अवस्था समीक्षा गरी भेटिएका तथ्य नागरिक समाजको तर्फबाट सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
२) स्वच्छ, शान्त, भयरहित वातावरण र बिना प्रलोभन निर्धक्क ढङ्गले मतदाताले मतदान गर्न पाउने प्रचलित कानुन तथा मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्य र मान्यताको सम्मानसहित ग्यारेण्टी गर्न अपिल गर्दछौं । साथै, मतदाता प्रभावित गर्न मतदानस्थल वरपर हुने भोजभतेर पूर्णतः बन्द गर्न गराउन अपिल गर्दछौं ।
३) अशक्त, अपाङ्गता भएकाहरु वा सहयोगी आवश्यक हुने मतदाताका हकमा इच्छाएको व्यक्ति वा निर्वाचन कर्मचारी बाहेक अन्य व्यक्तिबाट मतदान नगर्न/नगराउँन अपिल गर्दछौं ।
४) मौन अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्णरुपमा पालना गर्दै यस अवधिमा मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न/नगराउँनु हुन अपिल गर्दछौं । साथै, निर्वाचन खर्च पारदर्शी र मितव्ययी बनाउन र खर्चको स्रोत खुलाउन दल तथा उम्मेदवारहरुलाई आग्रह गर्दछौं ।
५) गर्भवती, सुत्केरी, अशक्त, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, विरामी, किरियापुत्री तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताको आधारमा सहज र सुविधायुक्त ढङ्गले मतदान गर्न पाउने, निर्वाचनको दिन अपाङगता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिने, मतदानस्थललाई उपयुक्त अनुकूलता हुने गरी यथासम्भव पहुँचयुक्त बनाउने, सहयोगीको प्रबन्ध गरिदिने, बहिरा व्यक्तिहरूसँग सांकेतिक भाषामा सञ्चार गर्न सक्ने वातावरण सिर्जना गर्न र अपाङगता भएका व्यक्तिहरूप्रति अपाङगतामैत्री व्यवहार गर्ने लगायतका पक्षहरूमा विशेष ध्यान दिन तथा आवश्यकता बमोजिम छुट्टै आराम कक्षको ब्यवस्था गर्न अपिल गर्दछौं ।
६) निर्वाचन सम्बन्धी कुनैपनि प्रयोजनका लागि वा मतदान स्थलमा तथा सामाजिक सञ्जालमा १८ बर्ष मुनिका वालवालिका तथा विद्यार्थीको दलगत प्रयोग नगर्न÷नगराउँनुहुन अपिल गर्दछौं ।
७) मत बदर हुने अवस्था न्यून गर्न मतदाता शिक्षा तथा निर्वाचन कार्यालयबाट स्थापना गरिने मतदाता शिक्षा सहायता कक्षलाई प्रभावकारी बनाउन अपिल गर्दछौं ।
८) निर्वाचन कार्यालयको तर्फबाट हरेक मतदान केन्द्रमा आवश्यकता बमोजिम खानेपानी, शौचालय, आकस्मिक औषधि तथा उपचार, सेनेटरी प्याड लगायतका अत्यावश्यक वस्तु तयारी एवं आधारभूत संरचनाको निर्माणसहितका सम्पूर्ण तयारी समयमै पूरा तथा संक्रामक रोगहरुबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न गराउन अपिल गर्दछौं ।
९) निर्वाचनको विश्वसनीयता मापन र कमजोरी सुधारका लागि निर्वाचन पर्यवक्षेकहरुले स्वतन्त्र, निष्पक्ष र तटस्थ भएर पर्यवेक्ष्ण गर्न, पर्यवेक्षणमा भेटिएका विषय वस्तुगत र तथ्यपूर्ण रुपमा समेटेर प्रतिवेदन सार्वजनिक गर्न पर्यवेक्षक तथा पर्यवेक्षण गर्ने संस्थाहरुलाई अपिल गर्दछौं ।
१०) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मंसीर ४ गते मतदानका दिन सार्वजनिक तथा निजी यातायातका साधन एवं हवाइ सेवा बन्द हुने सन्दर्भमा अत्यावश्यक सेवासंगै सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षक तथा मानवअधिकारवादीका आवश्यक संख्यामा सवारी साधन सहज अनुमति प्रक्रियाद्वारा सञ्चालनको व्यवस्था गर्न अपिल गर्दछौं ।
११) निर्वाचनका क्रममा कुनै समस्या उत्पन्न भए तत्काल सरोकारवालावीचको छलफल, संवाद र सहमतिबाट समाधान गर्न अपिल गर्दछौं ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार