लिलाराज खनाल

काठमाडौं – झापाका पाँच वटा संघीय निर्वाचन क्षेत्र र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आगामी मंसिर ४ गते हुने निर्वाचन मुख्यतया सत्तारुढ गठबन्धनमा आबद्ध दल र नेकपा एमाले– राप्रपाबीच साझा उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने भएको छ ।

झापामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले स्थायी समिति सदस्य अग्नीप्रसाद खरेल, एमाले प्रदेश नम्वर १ का इन्चार्ज देवराज घिमिरे जस्ता नेताहरु देखिएका छन् ।

झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये ३ नम्वर निर्वाचन क्षेत्रमा नेकपा एमाले समर्थित मतदाताको भोट निर्णायक देखिएको छ भने वाँकी चार वटा निर्वाचन क्षेत्रमा राप्रपाको भूमिका निर्णायक देखिएको छ । त्यसमा पनि झापा २ वाहेक सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु प्रभावशाली देखिन्छन् । झापामा एमाले–राप्रपाबीच तालमेल भए पनि कार्यकता र शुभेच्छु्कहरु सन्तुष्ट छैनन् ।

थापा र लिङ्देनको भरोसामा ओली

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा झापाको क्षेत्र नम्वर ५ मा पर्ने दमक नगरपालिकामा कांग्रेस–माओबादी र राप्रपाबीच तालमेल भएर एमाले उम्मेदवारका बिरुद्ध प्रतिष्पर्धामा मोर्चाबन्दी गरेर उत्रिएका थिए ।

तर, संघीय संसद र प्रदेश संसदको निर्वाचनमा नेतृत्व तहमा एमाले र राप्रपाबीच तालमेल भएर एमालेका उम्मेदवार पार्टी अध्यक्ष ओली साझा उम्मेदवार बनेपछि राप्रपाका कार्यकर्ता असन्तुष्ट मात्र होइन, तालमेललाई अस्वीकार गर्ने तयारीमा छन् ।

एमालेका जनप्रतिनिधिले बहुमतको आडमा दमक नगरको मेयरमा बिजयी भएका राप्रपाका नेता राम थापालाई नगर सभा संचालन गर्न नै नदिएपछि तितो घटना ताजै भएकाले त्यहाँ असन्तुष्टि चुलिएको हो ।

झापा क्षेत्र नम्वर पाँचमा एमालेको तर्फबाट पूर्वप्रधानमन्त्री ओली उम्मेदवार भएका छन् । उनीसँग सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी मुख्य प्रतिष्पर्धी हुन् ।

झापा पाँचमा एमालेका उम्मेदवारलाई राप्रपाले समर्थन गर्ने निर्णय उपल्लो तहमा भए पनि संगठनमा प्रभाव राख्ने राप्रपा एक नम्वर प्रदेश संयोजक तथा दमन नगरका मेयर राम थापा ओलीको पक्षमा खुल्न सकेका छैनन् । सो क्षेत्रमा राप्रपाको आठ हजार ३५३ मत भए पनि साढे सात हजार मत उनै थापाको प्रभावले गर्दा दमक नगरमै रहेको छ ।

यो क्षेत्रमा एमाले र कांग्रेसवाहेक स्वतन्त्र उम्मेदवार तुलसीराम काफ्लेले दुवै उम्मेदवारलाई चुनौति दिएका छन् । झापा ५ को स्थानीय तहमा सत्ता गठबन्धन दलले पाएको भन्दा एमालेको मत धेरै भए पनि राप्रपा नै निर्णायक शक्ति भएर देखा परेको छ ।

यहाँ गत स्थानीय तहको निर्वाचनमा एमालेले ४१ हजार ६१९ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार २२मत, माओबादीले १० ७८८ मत, नेकपा एसले एक हजार ९८८ मत पाएको थियो । झापा ५ मा सत्ता गठबन्धनको मत जेड्दा ३४ हजार ७९८ हुन्छ ।

एमालेको भन्दा करिव ८ हजार मत कम भए पनि राप्रपाले स्थानीय तहमा भएको सहमति अनुसार कांग्रेस उम्मेदवारलाई मत हालेमा ओलीलाई चुनाव जित्न निकै कठिन देखिन्छ । राप्रपाले स्थानीय तहको निर्वाचनमा भएको सहमति कार्यान्वयन गर्ने भन्दै कांग्रेसका अधिकारीलाई मत हालेमा सत्ता गठबन्धन दलको मत जोड्दा भने एमालेको भन्दा करिव दुई हजार मत बढी हुन आउँछ ।

राप्रपाका स्थानीय नेता र कार्यकता तथा शुभेच्छुकले स्थानीय तहमा कांग्रेसले लगाएको गुन तिर्ने निष्कर्षमा पुगेर करिव ६ हजार मत मात्रै कांग्रेसले तानेमा पनि ओलीलाई चु्नाव जित्न सहज छैन । राप्रपालाई गत स्थानीय तहको निर्वाचनमा आएको सबै मत ओलीलाई जाने ग्यारेण्टि पनि छैन ।

स्थानीय तहकाे निर्वाचनमा राप्रपालाइ सत्ता गठबन्धनका दलले सघाउने र त्यसकाे बदलामा संघीय र प्रदेश सभा निर्वाचनमा राप्रपाले सत्ता गठबन्धनका साझा उम्मेदवारलाइ समर्थन गर्ने सहमति भएकाे थियाे । सहमति कार्यान्वयनमा शंसय पालेका एमाले उम्मेदवार दमक हुँदा त्यसैले पनि मेयर थापालाइ भेट्न दैनिक जाने गरेकाे एक संचारकर्मीले बताए ।

झापाको क्षेत्र नम्वर पाँचमा पर्ने कमल गाउँपालिकामा आदिवासी रंगशाला निर्माण गर्ने भनेर आदिवासी जनजाति समुदायको चिहान घारी मासेर बनाइएको मैदान अहिले ओलीलाई टाउको दुखाई भएको छ । ओली प्रधानमन्त्री भए पछि सो रंगशालाको नाम मदन भण्डारी राख्ने र स्थानीयले आदिवासी रंगाशाला राख्नु पर्ने दबाबका बीच रंगशाला बन्न सकेको छैन ।

ओलीले कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको सो रंगशालालाई तिरस्कार गरी दमकमा अर्को रंगशाला निर्माणको योजना बनाएर बजेट नै छुट्याएपछि एमाले र त्यसमा पनि सो क्षेत्रका जनप्रतिनिधि ओलीप्रति स्थानीय रुष्ट छन् । रुष्ट मतदाताको मत जसले तान्यो उसकै पल्ला भारी हुने देखिन्छ । फेरि स्वतत्न्त्र उम्मेदवार काफ्लेले एमाले, राप्रपाकाे भाेट बढी तान्ने देखिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार