काठमाडौं । भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीले नेपालको पर्यटन प्रचारका लागि आफू लागिरहने बताएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फोटो पत्रकबार चौधरीले नेपालको पर्यटन प्रचारमा आफू सँधै लागिरहने बताएका हुन् ।
खोटा मुद्राको कसुरमा पक्राउ परी एक वर्षको जेल सजाय काटेका चौधरीले उक्त घटनालाई केवल एक दुर्घटना भन्दै आफू जेल परेपनि नेपालीका हार्दिकतालाई सँधै सम्झिरहने र माया गर्ने बताए । साथै नेपालको पर्यटन प्रचारका लागि आफू नेपाल आइरहने र काम गर्ने दोहोराए ।
भारतको कोलकाता स्थायी ठेगाना भएका २४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटो, टाइम्स अफ इण्डिया लगायतका सञ्चारमाध्यममा काम गर्थे । यसअघि सन् २०१८ मा पनि नेपालको अन्नपूर्ण सर्किटको भ्रमण गरी यहाँका प्राकृतिक सुन्दरतालाई नेशनल जिओग्राफी लगायतका मिडियामा प्रकाशन समेत गरेका थिए ।
पछिल्लोपटक नेपालको माछापुच्छ्र्रे हिम श्रृङ्खला तथा पोखरा र घान्द्रुकको प्राकृतिक सुन्दरताको फोटो तथा भिडियोग्राफी गर्न आउने क्रममा डलरको खेलौना नोटसहित उनलाई भद्रपुर प्रहरीले पक्राउ गरेको थियो । ‘मनि इज नथिङ’ नामको भ्लग बनाउँदा डलर उडाउने प्रयोजनका लागि भन्दै उनले भारतबाटै डलरको फोटोकपी गरी खेलौना नोट ल्याएका थिए । तर अनुमति नलिई त्यस्तो नोट ल्याएको र त्यसलाई चलनचल्तीमा प्रयोग गर्न खोजेको आरोप लगाएर प्रहरीले उनीमाथि झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रहरीले गलत कागजमा हस्ताक्षर गराएको आरोप
पत्रकार भेटघाटका क्रममा चौधरीले आफूलाई अर्कै कुरा लेखेको भनेर प्रहरीले अर्कै कागजमा हस्ताक्षर गराएको आरोप लगाए । चौधरीले भने, ‘मलाई प्रहरीले अब तिमीलाई रिहा गर्ने हो भनेर त्यही लेखेको भन्दै हस्ताक्षर गर्न लगाए । त्यतिबेला मलाई त्यहाँ भाषा अनुवादक पनि दिएनन् । तर पछि अदालतमा पुगेपछि थाहा भयो, प्रहरीले बनाएको कागजमा मैले अपराध कबुल गरेको र चलनचल्तीका लागि नोट बनाएको लेखिएको रहेछ । मलार्ई त्यही कागजमा हस्ताक्षर गराइएको रहेछ ।’
खेलौना नोटलाई अपराध भन्न खोजियो
चौधरीले उक्त नोट केवल खेलौना नोट भएको र त्यो देख्ने सबैले नक्कली हो भन्ने थाहा पाउने पनि दावी गरे । चौधरीले भने, ‘उक्त नोट मैले इन्टरनेटबाट डाउनलोड गरेर कोलकताकै एक फोटोकपी सेन्टरमा फोटोकपी गर्न लगाएको थिएँ । उक्त खेलौना नोट उडाएर पैसा नै सबैथोक होइन, पैसाले खुशी किन्न सकिँदैन भन्ने सन्देश दिन उक्त नोट उडाउने वा फाल्ने योजना थियो । उक्त नोटको फोटोकपी सामान्य फोटोकपी पेपरमा प्रिन्ट गरिएको थियो र उक्त नोट सक्कली नोटको भन्दा बाक्लो फोटो पेपरमा प्रिन्ट गरिएको थियो भने साइज पनि सक्कली भन्दा कुनै सानो त कुनै ठूलो आकारको थियो ।’
आफूलाई प्रहरीले पक्राउ गर्दा आफ्नो क्यामेरा, लेन्स, ट्राइपोड, कन्सेप्ट पेपर आदि सबैसहित पक्राउ गरेको भएपनि बरामदी मुचुल्कामा ती सबै सामान नराखेको कारण आफूले जेलमा बस्नुपरेको गुनासो समेत गरे ।
आफू झापाको जेलमा ७ महिना बसिसकेपछि रातोपाटी लगायतका नेपाली सञ्चारमाध्यमले आफ्नो बारेमा समाचार लेखेपछि बल्ल आफ्नो मुद्दाको सुनुवाइ भएको उनले बताए । आफूलाई नेपालका मिडिया र राष्ट्रिय फोटो पत्रकार समूहले महत्वका साथ चासो दिएपछि बल्ल आफ्नो मुद्दा चाँडो फैसला भएको बताए । सरकारी वकिलले आफूमाथि ५ देखि १० वर्षको कैद सजाय मागदावी लिएको भएपनि अदालतले त्यसलाई अस्वीकार गर्दै खेलौना नोट बोकेर हिँड्न नहुने कसुरमा १ वर्षको जेल सजाय तोकिएको बताए ।
अहिले आफू १ वर्षको जेल सजाय पूरा गरी रिहा भएको र पूर्ण सफाईका लागि उच्च अदालतमा पुनरावेदन गरेको कारण अदालतको विषयमा थप केही नबोल्ने बताए । यद्यपि उच्च अदालतबाट सफाई नपाए सर्वोच्च अदालतसम्म आएर आफूमाथि लागेको दाग मेटाउने उनले बताए ।
चौधरीले कानुनको सामान्य अज्ञानता र नेपाली सरकारी कर्मचारी तथा सीमामा कार्यरत कर्मचारीकै कमजोरीका आफूले एक वर्षको कैद सजाय भोग्नुपरेको गुनासो गरे । यद्यपि कानुनको जानकारी नहुँदैमा उन्मुक्ति नहुने भन्दै पहिले कानुन बुझ्नैपर्ने कुरा बताए ।
भिडियो बनाउन फेरि पनि नेपाल आउँछु
पत्रकार भेटघाटका क्रममा फोटोग्राफर चौधरीले आफू जुन उद्धेश्यबाट नेपाल आएको थिएँ त्यो उद्धेश्य पूरा गर्न फेरि पनि आउने बताए । उनले भने, ‘म जुन उद्धेश्यबाट नेपाल आएको थिएँ, त्यो उद्धेश्यबाट विचलित छैन । म फेरि पनि सोही भ्लग तथा नेपालको प्राकृतिक सुन्दरताको फोटोग्राफी गर्न नेपाल आउने छु र पोखरा तथा घान्द्रुकमा पुगेर भिडियो बनाउने नै छु ।’
नेपालीको सहयोगी भावनाको सम्मान गर्छु
फोटो पत्रकार चौधरीले आफू नेपाल र नेपाली जनतालाई सँधै माया गर्ने व्यक्ति भएको समेत बताउ । चौधरीले भने, ‘म नेपाल, नेपाली जनता र यहाँको प्राकृतिक सुन्दरतालाई सँधै माया गर्ने व्यक्ति हुँ । नेपालीहरुको सहयोगी भावनाको म सँधै सम्मान गर्छु र फेरि फेरि पनि नेपालको पर्यटन विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने नै छु ।’
फोटो पत्रकार चौधरीले नेपाली सञ्चारमाध्यम र पर्यटन व्यवसायीलाई समेत धन्यवाद दिएका छन् । उनले भने, ‘मलाई एक वर्षभित्रै जेलबाट निकाल्न नेपाली सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति कृतज्ञ छु । नेपाली फोटो पत्रकारहरुको संस्था राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) तथा त्यसका अध्यक्ष प्रदीपराज वन्त, मलाई प्रशासनिक र आर्थिक सहयोग गर्नुहुने पर्यटन व्यवसायी सुमन पाण्डे, भारतीय अभियान्ता राहुल बरुवा, मलाई कानुनी सहायता प्रदान गर्नुहुने वरिष्ठ अधिवक्ता अवधेश कुमार सिंह, अधिवक्ताहरु सुरज खत्री, सान्ता पाठक तथा भारतीय दुतावासलाई पनि धन्यवाद दिन चाहन्छु ।’
फेरि भेट्ने वाचा
फोटो पत्रकार चौधरीले नेपाली पत्रकारहरुसँग फेरि पनि आफ्नो भेट हुने प्रतिवद्धता जनाएका छन् । नेपालको प्राकृतिक सुन्दरता तथा नेपालीहरुको अपनत्वको प्रचार गर्न आफू फेरि नेपाल आउने त्यतिबेला कुनै फोटो प्रदर्शनी हुन सक्ने बताएका छन् । साथै अदालतबाट पूर्ण सफाई पाएपछि आफूहरुको पुनः भेट हुने चौधरीले बताए ।
आफ्नी आमाका साथ पत्रकार भेटघाटमा उपस्थित भएका चौधरीले आफू तत्कालका लागि आफ्नो देश भारत जाने र पछि फेरि नेपाल आउने बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार