नेदरल्याण्ड्सविरुद्ध तनावपूर्ण खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले विजयी हुँदै अर्जेन्टिना कतारमा जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो।

निकै तनावपूर्ण खेलमा १५ वटा पहेँलो कार्ड प्रदर्शन गरिएको थियो। जसमा अर्जेन्टिनाका ८ खेलाडीले पहेँलो कार्ड पाएका थिए। यस खेलमा पहेँलो कार्ड पाउने मार्कोस अकुना र गोञ्जालो मोन्टियलले सेमिफाइनल खेल गुमाउने छन्। अर्जेन्टिनाले सेमिफाइनल खेल मंगलबार क्रोएसियाविरुद्ध खेल्दै छ। यी दुवै डिफेन्डरले अस्ट्रेलियाविरुद्ध प्रिक्वाटर फाइनल खेलमा पनि पहेँलो कार्ड पाएका थिए।

गोञ्जालोलाई १०९ मिनेटमा पहेँलो कार्ड देखाइएको थियो। अकुनाले ४३ मिनेटमा पहेँलो कार्ड पाएका थिए। यो खेलमा नेदरल्याण्ड्सका डेन्जल डम्फ्रिजले दुई वटा पहेँलो कार्ड स्वरुप १२८ मिनेटमा रातो कार्डको सामना गर्नु परेको थियो। लिओनल मेसीले निर्धारित ९० मिनेटपछि थप भएको १० मिनेटमा नेदरल्याण्ड्सलाई आफ्नो डिबक्स क्षेत्र नजिक फ्रिकिक हान्न दिने रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाएका थिए। त्यसैले उनलाई पनि पहेँलो कार्ड देखाइएको थियो।

२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्डसलाई पुनः बिदा गरेको हो। खेलको सुरुवातमा अर्जेन्टिनाले २–० को अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

त्यसअघि अर्जेन्टिनाले कप्तान लियोनल मेस्सी र नहुएल मोलिनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा मोलिनाको गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए। तर अन्तिम समयमा नेदरल्याण्ड्सका ओउट वेग्होस्र्टले दुई गोल गर्दै नेदरल्याण्डसलाई खेलमा फर्काए। त्यसपछि खेल लम्बिएको थियो। यसअघि २०१४ मा पनि नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमै पराजित भएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार