मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार गरिएको छ ।

दुई सय ५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो । जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ । त्यसैगरी गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार गरिएको छ । जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिका छन् । सीमा नाकाबाट परामर्श गरी ४९ जनालाई घर फर्काइएको छ ।

उद्धार गरिएकामध्ये दुई वटामात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताए । “उद्धार गरिएका घटना हेर्दा धेरैजसो आफन्तबाटै बेचिएको पाइएको छ”, उनले भने, “सामाजिक सञ्जालको प्रयोग र बेरोजगारीका कारण धेरै महिला तथा बालबालिका भारतका सहरमा बेचिन पुगेका छन् ।”

उनले मानव बेचबिखनमा संलग्न व्यक्तिमाथि कारवाही हुन नसक्दा बेचबिखनका घटना बढ्दै गएको बताए । “अधिकांश उद्धार गरिएका आफन्तबाटै बेचिएका हुनाले मुद्दा दर्ता गर्न मान्दैनन”, उनले भने, “केही घटनामा दलाल नचिनिने र भारतबाट नेपाल नर्फने भएकाले पनि मुद्दा दर्ता हुन सक्दैन ।”

पछिल्लो समय दलालले वैकल्पिक मार्ग अपनाउन थालेकाले पनि मानव बेचबिखनका घटना बढ्दै गएको उनको भनाइ छ । बेचबिखनमा पर्ने बढीजसो दलित समुदायका र घरायसी आर्थिक अवस्था कमजोर भएका समुदायबाट रहेको उनले जानकारी दिए । “मुख्यगरी गरिबी, महत्वाकाङ्क्षी, खुला सिमाना र सामाजिक सञ्जालको गलत प्रयोगले बेचबिखनमा पर्ने गरेको पाइन्छ”, उनले भने, “रोजगारी लगाइदिने, बिहे गर्नेजस्ता प्रलोभन देखाएर बेचबिखन गर्ने गरेको पाइन्छ ।” यसवर्ष माइती नेपालले मानव बेचबिखनविरुद्ध दुई वटा मुद्दा दर्ता गरेको छ भने गत वर्ष एउटा मात्रै मुद्दा दर्ता गरेको थियो । रासस

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार