क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ ।

आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ जिल्ला अदालतमा स्थानीय तहको पत्र प्राप्त भएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहलाई किशोरीको जन्मदर्ता लगायतका कागजातको सक्कल प्रति र ढड्डा नै पठाउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि उक्त गाउँपालिकाले नाबालिकाको उमेर खुल्ने जन्मदर्ताको ढड्डा लगायतका कागज काठमाडौँ जिल्ला अदालतमा पठाएको हो । प्राप्त पत्रमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको छ ।

सन्दीपका एक वकिलले भने, ‘स्थानीय तहले काठमाडौँ जिल्ला अदालतमा जन्मदर्ता खुल्ने सक्कल कागजात पठाइसकेको छ । उक्त कागजातमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको उल्लेख छ । यसको अर्थ वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको देखिन्छ ।’

१८ वर्षभन्दा माथि रहेको भए पनि बलात्कार त हुन्छ होला नि भन्ने रातोपाटीको प्रश्नमा ती वकिलले भने, ‘१८ वर्ष पुगेपछि आपसी सहमतिमा यौनसम्बन्ध स्थापित गर्न पाउँछन् । यहाँ त यौनसम्बन्ध स्थापित भयो कि भएन भन्ने कुरा पनि अनुसन्धानकै क्रममा रहेको छ । यौनसम्बन्ध भएको भए पनि जबरजस्ती करणी हुन त त्यसको कुनै चिन्ह वा सङ्केत चाहिएला नि ।’

कानुनतः १८ वर्ष उमेर पुगेका व्यक्तिहरूले आपसी सहमतिमा यौन सम्बन्ध स्थापित गर्न सक्छन् । १८ वर्ष नपुगी सहमतिमै यौनसम्बन्ध भए पनि त्यसलाई बलात्कार मानिने कानुनी व्यवस्था छ ।

सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणित भएमा उक्त मुद्दामा व्यापक परिवर्तन हुन सक्नेछ । किशोरी होटलको कोठामा जाँदा हाँसीखुसी गएको र रिसेप्सनबाट आफैँले साँचो लिएर गएको कारण त्यहाँ जबरजस्तीको चिन्ह नदेखिएको सन्दीप पक्षका वकिलहरूले जिकिर गरेका थिए । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएको अवस्थामा भने सन्दीपले सफाइ पाउने सम्भावना समेत बलियो बन्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार