भद्रपुर, १ फागुन । झापाको भद्रपुरमा आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जित्नु भएको छ ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दुरी पार गर्दै उपाधि हात पार्नुभएको हो ।
त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो हुनुभएको छ भने महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो हुनुभएको खेल संयोजक पूर्वओलम्पियन डम्बर कुँवरले बताउनुभयो । भद्रपुर–६ स्थित मेची पुलबाट शुरु भएको प्रतियोगता भद्रपुर बजार–भानुचोक–संगम चोक–सगरमाथा चोक हुँदै मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगितामा विजयी धावकहरुलाई प्रथमलाई नगद रू पाँच हजार, दोस्रोलाई रू तीन हजार, तेस्रोलाई रू दुई हजार र टि–सर्ट पुरस्कार प्रदान गरिएको छ भने प्रतियोगितामा चौथोृदेखि दशौंसम्मलाई जनही रू एक हजार र टिसर्ट प्रदान गरिएको छ । भद्रपुर रनले खेलकुद क्षेत्रलाई चलायमान बनाउन मद्दत मिल्ने आयोजक संस्थाका अध्यक्ष दिपेश ढकालले बताउनुभयो । फागुन ७ गतेदेखि हुन लागेको भद्रपुर झापाको गोल्डकपको प्रचार प्रसारमा थप टेवा मिल्ने आयोजकको अपेक्षा छ ।