काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपति पदको उम्मेदवारी दिएका ‘दुई चन्द्र’ रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मत माग्ने कार्यलाई तीव्र बनाउनुभएको छ । गत १३ गते उम्मेदवारी दर्ता गराएसँगै अन्तरपार्टी नेता तथा सांसदहरूसँग उहाँहरूले आ–आफ्नै ढंगले मत मागिरहनुभएको छ ।
कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूलाई पत्र पठाएर मतदान गर्न आह्वान गर्नुभएको छ । त्यस्तै, उहाँले दलका शीर्ष नेताहरूसँगको भोटघाटलाई समेत निरन्तरता दिँदै आउनुभएको पौडेको सचिवालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मत माग्दै बिहीबार आयोजित आठ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पौडेलको पत्र बाँडिएको छ । उक्त पत्रमा उहाँले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गर्नुभएको छ । उहाँले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको बताउनुभएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

उहाँले भन्नुभएको छ –‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रूपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु ।’ समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुनसक्ने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार