झापा,फागुन १९ । भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

उनले आज भद्रपुरमा पत्रकार सम्मेलनमार्फत नेकपा एमाले परित्यागको घोषणा गरेकी हुन् । विगत ३२ वर्षदेखि एमालेमा आवद्ध श्रेष्ठले पार्टीप्रति विभिन्न १८ वटा असहमति जाहेर गर्दै आजको मितिदेखि पार्टीबाट अलग रहने निर्णय गर्न बाध्य भएको बताएकी छन् । उनीसंगै प्रदेश कमिटी सदस्य पदम थापा , ३ नं क्षेत्रीय सदस्य सज्जाद आलम र हवालोदिन मियाले पनि एमाले परित्याग गरेका छन् । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।

हामी नेकपा एमालेमा संगठित भई नेपालको वामपन्थी आन्दोलनमा क्रियाशील भएर विभिन्न जनसंगठन, पेशागत संगठन र पार्टी कमिटीहरुमा आवद्ध भएर राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनजिविकामा सुधार तथा न्याय र समानतामा आधारित सामाजिक रुपान्तरणको यात्रामा अविचलित रुपमा हिडेको पनि ३० वर्षभन्दा बढी भइसकेछ ।

२०४६ सालको आन्दोलनमा पार्टी कार्यकर्ताको रुपमा निरकुंश राजतन्त्र र तानाशाही शासनको विरुद्ध र २०६२।०६३ सालको जनआन्दोलनमा सकृय सहभागी भएका हौँ । आम जनताले निरन्तर रुपमा गरेको आन्दोलनबाट देशमा निरंकुश राजतन्त्रको अन्त्य भयो र लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर जनताको अवस्था अझै अपेक्षा अनुसार सुधार हुन सकेन । २०७४ सालको निर्वाचनमा वामपन्थी पार्टीहरु एकताबद्ध भएर करिव दुईतिहाई नजिकको सरकार बन्न सफल भयो तर पुनः सत्ता स्वार्थ, गुटगत स्वार्थ, नेतृत्वमा देखिएको दम्भ, घमन्ड र अहंकारको कारणले गर्दा एकतावद्ध नेकपा (नेपाल कम्युनिष्ट पार्टी) पुनः विभाजित भयो ।

असंवैधानिक रुपमा संसद विघटन गर्ने मुद्धाले नेपालको कम्युनिष्ट आन्दोलन विभाजन र विघटनको दिशामा गयो । कम्युनिष्ट नेताहरुमा आफूलाई राजा, महाराजा, शासक ठान्ने संस्कार संस्कृति देखियो । नेतृत्वको देवत्वकरण हुन थाल्यो । आफूलाई अन्धाधुन्ध समर्थन गर्ने कार्यकर्ताहरुलाई काखी च्याप्ने र ठीकलाई ठीक, बेठिकलाई बेठिक भन्ने, तथ्यबाट सत्य खोज्ने र हरेक घटना र परिवेशलाई द्वन्द्वात्मक भौतिकवादी ढंगले विश्लेषण गर्ने कार्यकर्ताहरु भेदभाव र पक्षपातको शिकार बन्न थाले । स्थानीय तह र संसदीय निर्वाचनमा समेत जनभावनाभन्दा पनि नेताहरुको आशिर्वादको आधारमा जिम्मेवारी वाँडफाँट हुन थाल्यो । समाजमा अन्याय र विभेदको विरुद्ध लड्ने हाम्रो पार्टीमा हामीजस्ता कार्यकर्ताहरु नै अन्याय र भेदभावबाट प्रताडित भइरहँदा समेत अन्तरपार्टी संघर्ष गर्दै पार्टीलाई एकताबद्ध बनाई राख्न र यसमा देखिएका विकृति, विसंगति अन्त्य गर्न निरन्तर रुपमा लागिपरिरहयौ । तर हुँदा हुँदा आज आएर पार्टीमा रहेर टेक्ने ठाउँ र सुधारका प्रयत्न गर्ने आधारहरु समेत समाप्त पार्ने प्रयास भएकाले निम्न बुँदागत असहमतिहरु आम जनता र कार्यकर्ताहरु सामु प्रस्तुत गर्दै आजैको मितिबाट हाम्रो ३० वर्षभन्दा लामो समय काम गरेको पार्टी नेकपा एमालेबाट अलग रहने निर्णय गरेका छौँ । फेरि पनि आगामी राजनितिक यात्रामा लामो समयसम्म सहकार्य गरेका साथीहरुसंग साझा दृष्टिकोण, समाज परिवर्तनको कार्यदिशा र कार्यक्रम बनाई एकतावद्ध बामआन्दोलन अगाडि बढाउने दिशामा हाम्रो प्रयास जारी रहने छ । बामआन्दोलनलाई अगाडि बढाउने क्रममा फेरि हामी भेट्ने छौँ ।
पार्टीप्रति हाम्रो असहमतिका बुँदाहरु निम्न लिखित रहेका छन् ।

 

१. २०६२।०६३ सालमा निरंकुश राजतन्त्र विरोधी आन्दोलनको अगुवाइ गर्ने पार्टी (नेकपा एमाले) राजावादी शक्ति (राप्रपा) संग निरन्तर रुपमा तालमेल गर्दै अघि बढेको र झापा ३ नं. क्षेत्रमा नेकपा एमालेलाई कमजोर बनाएको ।
२. राप्रपाको आलोचना गर्ने नेता कार्यकर्ताहरुको चरित्र हत्या गर्ने तर निर्वाचन अभियानको क्रममा एमाले कार्यकर्ताहरुले भोग्नु परेको अपमान, राप्रपाको निगरानी र एमाले कार्यकर्तालाई राप्रपामा प्रवेशसम्म गराउने राजनीतिक घटनाको नेतृत्वले वेवास्ता गरेको ।
३. पार्टीमा केही कार्यकर्ताहरुलाई पार्टी नेतृत्वले प्रोत्साहन दिएको, उनीहरुले पार्टी नेतृत्वलाई जे सुनायो त्यसैमा विश्वास गर्ने पार्टीसम्बद्ध विभिन्न इस्युहरुमा आम कार्यकर्ताहरुको यथार्थ भावनालाई पार्टी नेतृत्वले वेवास्ता गरी पक्षपात र भेदभावपूर्ण निर्णय गर्ने गरेको ।
४. पार्टीभित्र काखा पाखा गर्ने परिपार्टीको अन्त्य तत्काल गर्न माग गर्दै योग्यता, क्षमता, योगदान र सिद्धान्तनिष्ट नेता कार्यकर्ताहरुलाई एकतावद्ध बनाई सुदृढ पार्टी संगठन निर्माणमा केन्द्रीय तथा जिल्ला कमिटी नेतृत्वको गम्भीर ध्यान आकर्षण गर्दा पनि उहाँहरुले उक्त कुराहरुको कुनै पर्वाह नगरेको ।
५. पार्टीभित्र पार्टी नेतृत्वको आशिर्वाद र संरक्षण निर्णायक बनेको र ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने परिवेश पार्टीमा नरहेको ।
६. अब पार्टीमा जतिसुकै योगदान गरेपनि पार्टी नेतृत्वको आशिर्वाद नहुन्जेल पार्टीभित्र कार्यकर्ताहरुको निष्पक्ष मूल्यांकन हुने परिवेश नरहेको ।
७. पार्टीमा फरक मत राख्ने वा नेतृत्वको कमिकमजोरी औल्याउने कार्यकर्तालाई जिम्मेवारी नदिने प्रवृत्ति हावी भएको र उनीहरुलाई राजनीतिक रुपले किनारा लगाइएको ।
८. पार्टी मार्क्सवादी दर्शनबाट निर्देशित हुन छोडेको ।
९. पार्टीभित्र मजदुर, किसान र श्रमजीवि वर्गको हकहितको पक्षपोषण गर्ने कार्यदिशा कमजोर बन्दै गएको ।
१०. बुर्जुवा पार्टी र नेकपा एमालेमा फरक देखिन छोडेको ।
११. पार्टी नीतिभन्दा नेता प्रधान हुँदै गएको ।
१२. पार्टीमा अन्तरपार्टी लोकतन्त्रभन्दा गुटतन्त्र हावी भएको ।
१३. पार्टी एकल व्यक्तिको कम्पनी जस्तो भएको सबै कुरा पार्टी नेतृत्वको एकल निर्णयबाट चल्ने गरेको ।
१४. पार्टीभित्र सामूहिक नेतृत्वको परिपाटी हराउँदै गएको ।
१५. आफू जिल्ला कमिटीको उपसचिव रहेतापनि कार्यालय कमिटी र पदाधिकारी वैठकमा नबोलाई गुटगत रुपले निर्णय गर्ने गरिएको ।
१६. पार्टीलाई पार्टी नेतृत्वको आशिर्वाद प्राप्त सिमित कार्यकर्ताहरुले स्वार्थपूर्ति गर्ने भाँडो मात्र बनाउन खोजेको ।
१७. पार्टीभित्र दलाली र चाकडी चाप्लुसी हावी हुँदै गएको, स्वाभिमानी कार्यकर्ताहरुलाई अपमानित र तिरस्कृत गरिएको ।
१८. पार्टी कार्यकर्ताहरुलाई आलोचनात्मक चेत र क्षमता भएका ठिक बेठिक सही र गलत विश्लेषण गर्ने क्षमता भएका र उत्पादनसंग जोडेर समाजवादतर्फको समृद्धिको यात्रामा पूर्वाधार तयार गर्नुपर्नेमा नेतृत्वको जयजयकार गर्ने बनाउने कार्यकर्ता पंक्ति तयार गर्ने काम पार्टीभित्रै भईरहेको ।

पार्टीभित्र भएका उक्त कमिकमजोरीहरु सुधार गर्नको निम्ति पार्टी नेतृत्व समक्ष पटकपटक कुरा राख्दा कुनै सुनुवाई नभएकोले यहाँहरुको संचारमाध्यममार्फत हामी जनतासमक्ष राख्न बाध्य भएका छौँ ।
कुनै पार्टी कार्यकर्ताको विषयमा उनीहरुको भूमिकाको मूल्यांकनको विषय उठ्दा विधान अनुसार पार्टीको आधिकारिक कमिटीमा छलफल हुनु पर्ने तर छलफल नै नगरी गु्टको कार्यदलको सिफारिसको आधारमा नेकपा एमाले पार्टी जिल्ला कमिटीको अध्यक्षले हचुवाको भरमा हस्ताक्षर गरी निर्णयमा पुग्नु कतिको विधानसम्मत र न्यायसंगत हो ? पार्टीमा स्वेच्छाचारीता एवम् चरम गुटबन्दी हावी भएको र विधि विधान र पद्धतिभन्दा बाहिर गएर पार्टी संगठन चलिरहेको सन्दर्भमा पार्टी नेतृत्वसमक्ष पटक पटक राखिएको भएपनि केही सेन्डिकेट र ठेकेदारीहरुबाट पार्टी कब्जा गरी पार्टी हितविपरीत संगठनलाई निजी तुष्टी पूरा गर्ने वा आग्रह पूर्वाग्रह साँधेर संस्थागत रुपमै नेतृत्व तह नै एकजुट भएर स्वाभिमानी राजनीतिक कार्यकर्ताहरुको राजनीतिक कत्लेआम गर्ने गलत संस्कृति नसुध्रिएकोले आफ्नो जीवनको अमूल्य र इनर्जेटिक समय खर्च गरेको यो पार्टीमा स्वाभिमानी कायम गरेर आफूलाई ठिक लागेको कुराहरु अभिव्यक्त गर्ने ठाउँ समाप्त भएको र पार्टी सिद्धान्तमा पार्टी विचलन भएकोले पार्टीमा निरन्तरता दिन नसक्ने भएकोले आजको मितिदेखि पार्टीबाट अलग रहने निर्णय गर्न बाध्य भएको हुँदा हाम्रो सम्पूर्ण साथीभाइ नेतानेतृत्वमा अब हामी दुःखका साथ जानकारीका लागि अनुरोध गरेका छौँ र हामी हाललाई एमाले पार्टीबाट अलग भएपनि पार्टीमा रहनु भएका इमान्दार र स्वाभिमानी नेता कार्यकर्ताहरुसंग हाम्रो संवाद निरन्तर रुपमा जारी रहने छ साथै बामआन्दोलनप्रति हाम्रो निष्ठा, सहयोग र योगदान निरन्तर रहने छ । हामी तत्काल कुनै राजनीतिक पार्टीमा आवद्ध हुने छैनौं तर हामी एउटा राजनीतिक मानिस भएकोले हामीले पछि यो विषयमा सोचेर निर्णय लिनेछौँ र अहिलेलाई नितान्त स्वतन्त्र नै रहने छौँ । हाम्रो राजनीतिक जीवनमा हामीले संगठित गरेका तमाम साथीहरुको उज्यालो राजनीतिक भविष्यको कामना गर्दछौँ ।

अभिवादन सहित
१) चन्द्र माया श्रेष्ठ (भद्रपुर), नेकपा एमाले जिल्ला कमिटी / उप–सचिव
२) पदम थापा (बाह्रदशी) / प्रदेश कमिटी सदस्य
३) सज्जाद आलम / ३ नं. क्षे.सदस्य बाह्रदशी
४) हवालो दिन मियाँ / गा.पा. सदस्य बाह्रदशी
५) रहिम मियाँ / सचिवालय सदस्य बाह्रदशी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार