काठमाडौं, ९ जेठ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालले सरकारको नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग गर्दै सरकारको ध्यानाकार्षण गराएको छ । महासंघले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अहिलेको बेरोजगारीको समस्या व्याप्त भइरहेको आवस्थामा लघु उद्यम विकास कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै यसलाई नहटाउन ध्यानाकार्षण गराएको हो । आर्थिक मन्दीको कारण देखाउँदै लाखौं साना उद्यमीलाई मारमा नपार्न उनीहरुले सरकारको ध्यानाकार्षण गराएका हुन् ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालकी अध्यक्ष देवकी घिमिरेलेसरकारले लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताईन् । आर्थिक मन्दीको आधार देखाएर राज्यले विभिन्न क्षेत्रको अनुदान कटौती गरिरहको अवस्थामा लघु उद्यमसँग सम्बन्धित् कार्यक्रम नहटाउनका लागि आफूहरुले खबरदारी गरेको उनले बताईन् ।

‘हामीहरुले उद्यम सिर्जना गर्नुपर्ने ठाउँमा उद्यमीहरुको भविष्य कतातिर गइरहेको छ ? भनेर ध्यानाकार्षण गराउनुपर्ने अवस्था आएको छ । विभिन्न किसिमका टिक्काटिप्पणीहरु यस विषयमा उठ्न सक्ला ।’ उनले भनिन्,‘हामीले मिडियाहरुबाट आएका समाचारका आधारमा अहिले आर्थिक मन्दीमा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु कटौती गर्ने कुरा भइरहेको हुँदा कतै यो (लघु उद्यम विकास) कार्यक्रम पनि सरकारको यस नजरभित्र परेको त होइन् ? भनेर सरकारलाई ध्यानाकार्षण गराएको हो ।’

उक्त कार्यक्रम स्थानीयस्तरमा एकदमै प्रभावकारी रहेको उनको भनाई छ । उक्तकार्यक्रमको आधारमा बेरोजगार, गृहणी, महिलालगायतले पनि रोजगारी पाएको र लघु उद्यममार्फत आयआर्जनको बाटो अवलम्बन गरिरहेको उनको भनाई छ । ‘यो कार्यक्रम एकदम प्रभावकारी छ । उद्यमीहरुले उत्पादनलाई व्यवस्था पन र विभिन्न किसिमका कठिनाईहरु सरकारले सुनोस् भनेर सरकारलाई हामीले ध्यानाकार्षण गराएको हो,’– उनले भनिन् । सरकारले साना–साना उद्यम÷व्यवसायलाई प्रवद्र्धन, व्यवस्थापन गर्न र बजारीकरण गर्न आवश्यक रहेको उनले बताईन् । कुन सरकारको पालामा ल्याइएको भन्ने हेरेर भन्दा पनि यसको प्रभावकारिताको आधारमा निरन्तरता दिनका लागि उनले आग्रह गरिन् । बरु उक्त कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल सरकारले आवश्यक कदम चाल्न आवश्यक रहेको उनको भनाई छ ।

त्यसैगरी ध्यानाकार्षण कार्यक्रमका प्रमुख अतिथि, लघु उद्यम कार्यक्रम विशेषज्ञ राजन केसीले अहिले देशमा रहेको विभिन्न समस्यामध्ये बेरोजगार समस्या मुख्य भएको बताए । स्थानीयस्तरका स्रोत र साधनलाई परिचालन गरेर विपन्न वर्गलाई पनि उद्यमी बनाउनका लागि उक्त कार्यक्रम प्रभावकारी रहेको उनको दाबी छ । विपन्न वर्गको आर्थिक अवस्था उकास्नका लागि लघु उद्यम कार्यक्रममार्फत राज्यले उद्यमीलाई सामाजिक परिचालन, उद्यमशीलता, लगानीमा पहुँच, बजारीकरण, प्रविधि र सल्लाह दिन आवश्यक रहेको उनको भनाई छ ।

‘विपन्न वर्गको आर्थिक स्थिति उकास्नका लागि एउटामात्रै कुराले पुग्दो रहेनछ । त्यसका लागि सामाजिक परिचालन, उद्यमशीलता, लगानीमा पहुँच, बजारीकरण, प्रविधि र उनीहरुलाई बेलाबेलामा सल्लाह÷सुझाव दिने वातावरण मिलेको खण्डमा स्थानीयस्तरमा उपलब्ध भएका साधन तथा स्रोतको परिचालन गरेर आयआर्जन गर्न सकिन्छ,’–उनले भने ।

अहिले नेपाल सरकारले उक्त क्षेत्रमा काम गरिरहेको भएपनि त्यो पर्याप्त नभएको उनले बताए । सरकारले रोजगार सिर्जना गर्दा साँढे दुई अर्ब पैसाले एक सय जनालाई मात्रै रोजगार सिर्जना गर्नसक्ने उनको भनाई छ । सरकारकाको साँढे दुई अर्ब बजेटले लघु उद्यम कार्यक्रममार्फत् करिब एक लाख पचास हजार रोजगार सिर्जना गर्नसकिने उनको दाबी छ ।

आर्थिक विपन्नता भएका वर्गहरुलाई उक्त कार्यक्रममा जोडेर उद्यमी बनाउन आवश्यक रहेको उनले बताए । विपन्न वर्गलाई उद्यमी बनाउन र बेरोजगारलाई रोजगारी प्रदान गर्नका लागि लघु उद्यम विकास भन्दा अर्को कार्यक्रम नभएको उनको दाबी छ । यस कार्यक्रमका लागि नेपाल सकारले लगानी बढाउन र कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अर्को विकल्प नभएको उनको भनाई छ ।
राष्ट्रिय उद्यमिता सहजकर्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमराज जोशीलेलघु उद्यम विकास कार्यक्रमले देशबाट गरिबी निवारण, वैदेशीक पलायनबाट रोक र देशको आर्थिक विकासको मेरुदण्डको रुपमा काम गरिरहेको बताए । सरकारको नीति तथा कार्यक्रममा लघु उद्यमीको माग र आवश्यकताहरुलाई खुम्च्याउन नहुने उनको भनाई छ ।

‘सरकारमा जोसुकै हुनुहुन्छ, जुनसुकै पार्टीको हुनुहुन्छ, हामीले हेर्ने भनेको विरालोले मुसा मार्यो कि मारेन भन्नेमात्रै हो । विरालोको रंग सेतो कि कालो भनेर हामी हेर्दैनौंं । सात सय ५३ वटै पालिकामा यो कार्यक्रम सँगसँगै दक्ष जनशक्तिको रुपमा रहेको सिटीभिटीबाट लेवल टु, लेवल थ्री, डिप्लोमा कोर्ष गरेका उद्यम विकास सहजकर्ताहरु कार्यरत हुनुहुन्छ ।’ उनले भने,‘उनीहरुको भविष्य कार्यक्रमसँगै कतातिर गइराखेको छ ? यसमा सरकारको ध्यानाकार्षण होस् भनेर आजको कार्यक्रममा हामी भेला भएका छौं ।’

साथै, देशको उद्यम विकासका लागि उद्यम विकास सहजकर्ताहरुले गरेका कामको अनुगमनका लागि सम्बन्धित पालिकामा जान पनि उनले सकारसमक्ष आग्रह गरे ।
‘देशलाई औद्योगीकरणको रुपमा लानका लागि दक्ष जनशक्तिको रुपमा रहेका उद्यम विकास सहजकर्ताहरुले गरेको कामको परिणाम हामीले तपाईँहरुको अगाडि ल्याइसकेका छौं । त्यसलाई सर्टिफाई गर्न कतै जान पर्दैन, नेपाल सरकारले सम्बन्धित पालिकामा गएर अनुगमन गरे पुग्छ,’– उनले भने ।
देशलाई औद्यागीकरण नगरेर व्यापारीकरणको बाटोमा लैजाने सरकारको नीतिका बारेमा आफूहरुले पटक–पटक खबरदारी गरिरहेको उनको भनाई छ ।
लघुउद्यमी श्रीदेवीश्रेष्ठले लघु उद्यम कार्यक्रम स्थानीय तहका प्रत्येक घरघरमा पुगेको र यो महिलाहरुका लागि एकदमै प्रभावकारी भएको बताईन् ।
‘यो कार्यक्रम स्थानीय तहका गएर प्रत्येक घरघरमा पुगेको छ र प्रत्येक घरको महिलाहरुमा पुगेको छ । बेरोजगार भएर बसेर पुरुषको आशामा पालिनु परेको छ । घरमामात्रै सीमित भएर बस्नुपरेका महिला हरुलाई कसरी अगाडि बढाउन किन्छ भन्ने कुरामा हामीले यो कार्यक्रमलाई बुझेका छौं,’– उनले भनिन् ।

लघु उद्यमी ट्रेनिङ लिएर आफूहरु स्वाबलम्बी बनेको उनले बताईन् । उक्त तालिमपछि आफूहरुले महिला समूह मिलेर व्यवसाय सुरु गरेको पनि उनले सुनाईन् । आफूहरुले बेसिक लेवलको तालिममात्रै लिएकाले एड्भान्स तालिमको अपेक्षा गरेकोसमेत उनले बताईन् ।
उद्यमी समिता खनालले आफूहरुले यस कार्यक्रमबाट सिकेर पोते, क्रिष्टलको माला बनाउने काम गरिरहेको बताईन् । उनले आफूले सिकेको काममा आमा, काकी र ठूलोमामीहरुलाई समेतसहभागी गराएर स्वाबलम्बी बनाएको बताईन् ।
लघु उद्यमी दिनेश विशुंके लघु उद्यमीहरुले अहिले आफ्नो लगानी भन्दा पनि कम रेटमा उत्पादन बेच्नुपर्ने अवस्था रहेको बताए । सरकारले यस समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाई छ । लघु उद्यमीहरुसँग लगानीको अभाव रहेको पनि उनले बताए । उद्यमीलाई बजारीकरणको तालिम प्रदान गर्नुपर्ने र लघु उद्यमीबाट उत्पादित उत्पादन विक्रि वितरणका लागि छुट्टै बजारको व्यवस्था भएको खण्डमा समस्या समाधान हुनसक्ने उनको भनाई छ ।

लघुउद्यमी सरला सुवालले यस कार्यक्रमबाट महिलाहरुलाई विशेष सहयोग पुगेकोे बताईन् । गरिबी निवारणका लागि महिलाहरुलाई स्वरोजगार र उद्यमशील बनाउन आवश्यक रहेको उनको भनाई छ । सरकारले लघु उद्यमीलाई ऋण र बजारीकरणको व्यवस्था गर्नु अहिलेको आवश्यकता रहेको उनले बताईन् ।

पदम मग्रातीले देशमा लघु उद्यमबाट गरिबी र बेरोजगारीको समस्यामा रहेकाहरुको समस्या सम्बोधन भइरहेको बताए । त्यसलाई निरन्तरता दिनका लागि सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

राष्ट्रिय उद्यमिता सहजकर्ता महासंघ नेपालका उपाध्यक्ष शान्ता विकले लघु उद्यमको माध्यमबाट बेरोजगारीको समस्या समाधान गर्न आवश्यक रहेको बताईन् । उद्यम विकास सहजकर्ताहरु जागिरकै लागिमात्र नलडेको उनको भनाई छ ।

देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि उद्योग र उद्यमी आवश्यक हो भन्ने कुरा राज्य आफैंले बुझ्न आवश्यक रहेको उनले बताईन् । उद्यम विकास सहजकर्तालाई व्यवस्थापन गर्नका लागि राज्यले अपनत्व ग्रहण गर्न आवश्यक रहेको उनको भनाई छ । अहिलेको विषम परिस्थिति र आर्थिक संकटको अवस्थामा राज्यले उद्यमको क्षेत्रमा बजेट काट्नु गम्भीर विषय भएको उनको बुझाई छ । राज्यले आफूहरुको माग सम्बोधन गर्न नसकेको खण्डमा आफूहरु आन्दोलनमा उत्रिने उनले चेतावनी दिईन् ।

उद्यम विकास अधिकृत कृष्णमाया रिजालले सरकारले विशेष महत्व दिनपर्ने कार्यक्रमलाई बेवास्ता गरेको उनको आरोप छ ।
‘लघु उद्यम विकास कार्यक्रमहरु नेपाल सरकार, स्थानीय तह र राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमलाई किन प्राथमिकतामा राखिएन ? यो गम्भीर विषय हो,’– उनले भनिन् ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय उद्यमिता सहजकर्ता नेपालकी सचिव गीता कुमारी कोइरालाले गरेकी थिईन् । कार्यक्रममा लघु उद्यमीहरुले उत्पादन गरेका उत्पादनसमेत प्रदर्शनीमा राखिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार