इलाम । गएका वर्ष यस सिजनमा धान हुने क्षेत्रका माथिल्ला ठाउँमा पनि धान रोप्ने गरिन्थ्यो । तर यस वर्ष धानको बीउ नै राख्न समस्या भएको छ । धान हुने क्षेत्रमा पनि रोपाइँ गर्न नै समस्या हुने स्थिति आएको सूर्योदय नगरपालिकाका दुर्गाभवानी पोखरेल बताउनुहुन्छ । उहाँले यस वर्षको जेठमा पनि अत्यधिक घाम लागेकै कारण भएको हरियाली सुक्खा बन्दै गएको बताउनुभयो ।

गाईपालन गर्ने किसानसमेत घाँस सुक्दै गएपछि चिन्तित छन् । लैनो गाईले समेत हरियो घाँस खान नपाएपछि दिँदै आएको दूधसमेत घटाएको किसानहरूको भनाइ छ । माईजोगमाई गाउँपालिकाकी सावित्रा सुवेदीले गएका वर्षहरूको यस सिजनमा भएको हरियाली स्मरण गर्दै यस वर्ष तरकारी खानसमेत समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोहोरहुँदी त यो बेला थरीथरीका तरकारी हुन्थे, यस वर्ष हरियो तरकारी नै छैन ।”

उहाँ जस्तै गाउँका स्थानीय किसानले जुन अनुपातमा विगत वर्षहरूका तरकारी बिक्री गर्थे त्यो अनुपातमा यस वर्ष उत्पादन र बिक्री हुन नसकेको बताउँदै आएका छन् ।तराईमा गर्मी बढेको छ । तराईमा भन्दा पहाडमा गर्मी कमी छ । तर विगतका वर्षमा भन्दा यस र्ष पहाडमा समेत गर्मी ज्यादा रहेको छ । ठाउँठाउँमा राखिएका तापक्रम मापन स्थलहरूमा समेत यस वर्ष उच्च तापक्रम नै देखाउने गरेको छ ।

विगत यस सिजनमा केही क्षण वा एक वा दुई दिनमात्र तापक्रम बढ्ने गरेको भए पनि यस वर्ष एकसाता यता पानी नपरेका कारण पनि गर्मी उखुमै बढेको बताइएको छ ।

इलाम नगरपालिका–७ अर्थात इलाम चोक बजारमा राखिएको तापक्रम मापन केन्द्रमा आज पनि ३० डिग्री तापक्रम देखाएको छ । यसअघि मध्य दिनमा यहाँ ३२ डिग्रीसम्म तापक्रम देखाएको जनाइएको छ । पहाडका माथिल्ला क्षेत्रहरूमा समेत यस वर्ष तापक्रम बढेको छ ।

तराईका केही जिल्लामा गर्मी बढेकै कारण बर्खे बिदामा कटौती हुने गरी विद्यालयमा बिदासमेत दिइएको छ । तर पहाडमा समेत अध्ययनमा समस्या भएको विद्यार्थीहरूको भनाइ छ । विद्यालयमा लगाइएको जस्ताको छानाबाट अझ तापक्रम थपिएर आउने हुँदा पढ्नभन्दा शीतलताको खोजीमा नै विद्यालय समय बित्ने गरेको उनीहरू बताउँछन् ।

यस वर्ष समयमा पर्याप्त पानी नपर्दा गर्मी बढेको हो । गर्मी बढेपछि जिल्लाका चिया किसानले समेत समस्या भोग्नुपरेको छ । सुक्खा लाग्दा यस सिजनमा पलाउने चियासमेत नपलाएको किसानहरू बताउँछन् । यस्तो मौसमले यस सिजनमा चियाको उत्पादनसमेत घट्ने उनीहरूको भनाइ छ ।प्रकृतिमा आएको परिवर्तनले यस वर्ष किसानले लगाएको कृषिबालीमा सुक्खाकै कारण उत्पादन घट्ने बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार