मलाई ठेगान लगाउन आए बाटैमा ठेस लाग्छः ओली

आज काठमाडौंमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधानमन्त्रीबाट हटाउन चुनौती दिनुभएको हो । हटाउन सके हटाएर देखाउन उहाँले चुनौती दिनुभएको हो । कसैले हटाए पनि नेकपा(एमाले) बीस महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘लगभग दुईतिहाई लिएर सिंहदरबार पस्छौँ । १९ महिनापछि । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । हटाओस् । जालझेल गरोस् । षडयन्त्र गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । बीस महिनापछि फेरि यो पार्टी, सुर्य चिन्हधारी पार्टी, नेकपा(एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मुल गेटबाट फेरी पस्छ बीस महिनापछि । हामीलाई प्रतिपक्षमा एकछिन रहन कुनै गाह्रो छैन । प्रतिपक्षमा पनि बस्न तयार । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ ।’

उहाँले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताउनुभयो । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘उहाँहरु कता जानुभयो ? कता जान हिड्नुभएको थियो ? बाटामा तगारो आयो अरे । तगारो आएपछि कसैले फर्क भन्दियो अरे । फर्किदै हुनुहुन्छ अरे । ठिक छ फर्किनुस् । आउनुस् । केही गरिदिया छैन उहाँहरुलाई । उहाँहरुले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नका लागि, काम गर्दै गर्नुपरेन ? पार्टी चलाउँदै गर्नु परेन ? उहाँहरु आएपछि सल्लाहसँग गरुँला । अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरुलाई केही कामको जिम्मा दिएका छौँ । काम त चलाउँदै गर्नुप¥यो नि हामीले । त्यो जिम्मा दिँदाखेरी फेरि दलिनमा टाउको ठोक्किने गरी उफ्रिराख्नु भएको छ । किन उफ्रिराख्नु बैठकमा आए भैगयो नि । ७ गते बैठक बोलाइएको छ । आउनुस् । छलफल गरौँला । कसरी अगाडी बढ्ने बढौला ।’

प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन नेपाल–खनाल पक्षलाई सार्वजनिक रुपमा आव्हान गर्नुभएको छ । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाबाट रुवाबासी गर्दै अदालतको फैसलापछि बिदावारी भएर हिँड्नु भएको थियो रे । अर्याल होटलसम्म आइपुग्नु भाको छ त्यहाँ एक दुई रात बास बस्नुभाको भन्ने सुनियो । बैठकमा आइपुग्नु भको छैन । प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु । चैत्र ७ गते बैठक बोलाएको छु । यत्रोविघ्न टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला सुनिन भन्न पाइने छैन । २०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहँदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्नेगरी भन्न चाहान्छु ७ गतेको बैठकमा आउनुहोला ।’

प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडि बढ्न नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गर्नुभएको छ । एमालेहरुलाई पनि सच्चिएर आउन आग्रह गर्दै केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘म हिजो माओवादी केन्द्रमा रहेका नेता, कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु । हामीले एकता गरेका थियौँ । एकतामा कायम रहौँ । अगाडी बढौँ । म स्वागत गर्छु साथीहरुलाई । फेरि पनि वेलकम गर्छु । आउनुुस्, सँगै मिलेर अघि बढौँ । सच्चिएर आउनका लागि म बाटो बिराएकाहरुलाई पनि भन्न चाहन्छु आउनुस् सच्चिएर । यसो वक्तव्यबाजी सुन्छु कतै कतै । हामी फर्किन्छौँ, केपी ओलीलाई ठेगान लाउन फर्किन्छौ । खुट्टी देख्दै पत्याइयो । काम गर्न आउनुस् । पार्टी चलाउन आउनुस् । देश बनाउन आउनुस् । सच्चिएर आउनुस् । स्वागत छ । केपी ओलीलाई ठेगान लाउन आउनुभो भने तपाईको खुट्टामा बाटैमा ठेस लाग्छन् । म सबै साथीहरुलाई आग्रहहरु छोडेर, भ्रमहरु तोडेर पार्टीमा आउन, एकजुट भएर अगाडी बढ्न तमाम कार्यकर्ताहरुलाई आग्रह गर्न चाहान्छु ।’

प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकार ढालेर टालाटुलीको सरकार बनाउन लागिएको भए पनि आफुहरुले जस्तो काम गर्ने पार्टी कुनै नभएको दाबी समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार