हल्दिबारी न्यूज डेक्स-
चन्द्रगढी चैत्र ९/ सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोस्ट्) को सङ्ख्या मोरङमा ११ पुर्याइएको छ ।
मोरङ भारतसँग ६३ दशमल ४ किलोमिटर खुला सिमाना रहेको जिल्ला हो । पछिल्लो पटक आइतबार तीनवटा बिओपीको एकैसाथ उद्घाटन गरियो । खुला सीमा रहेको मोरङको सिक्टी, धनापट्टि र मीर्चाडाँगी नाकामा स्थापना गरिएका बिओपीको सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटनपछि सबै बिओपी औपचारिक रुपमा सञ्चालनमा आएका छन् । नयाँ थपिएका सबै युनिटमा प्रहरी नायव निरीक्षक (सइ)को नेतृत्वमा टोली खटाइएको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार नयाँ थपिएका सहित मोरङमा बिओपीको सङ्ख्या ११ पुगेको छ । उनका अनुसार यसअघि आठवटा मात्रै बीओपी थिए । दुई देशीय सीमाको सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्रलाई दिइएको छ ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लैजाने र सीमामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने सरकारको नीति अनुरुप अहिले नयाँ बिओपी थप गरिएको जानकारी पौडेलले दिए । उनका अनुसार स्थानीय सरकारको सहयोग, संसद् विकास कोष तथा जनश्रमदानबाट नयाँ बीओपी सञ्चालनमा ल्याउन सम्भव भएको हो ।
सिक्टी बीओपी सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न संसद् विकास कोषबाट १० लाख तथा सुनवर्षी नगरपालिकाबाट पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको एसपी पौडेलले बताए । स्थानीय समाजसेवी बाजुदिन आलम, मनताज आलम तथा कफिर आलमले बिओपीका लागि १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । अब केही समयमै बीओपीका लागि नयाँ संरचना तयार हुने जानकारी उनले दिए । बीओपी स्थापना भएपछि सीमामा कार्यरत सुरक्षाकर्मीको मनोवल उच्च बनेको पौडेलको भनाइ छ ।
सशस्त्रको प्रदेश प्रमुख बनेर डीआईजी दाहाल आएपछि प्रदेश १ मा नयाँ बीओपी स्थापना तीव्र बनाएर लगिएको हो । प्रदेशका सबै सिमावर्ती क्षेत्रको अवलोकन र निरीक्षण गरिसकेपछि दाहालले नयाँ बीओपी स्थापना, सञ्चालन र जनशक्ति व्यवस्थापनमा सक्रियता बढाएका थिए ।
उनका अनुसार राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय आतंकवादी समूहको घुसपैठ, अवैध हतियार र गोलीगट्ठा तथा विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण सशस्त्रको प्राथमिकतामा छन् । लागुऔषधको ओसारपसार, जडिबुटी तथा वन पैदावारको ओसारपसार, मानव बेचबिखन, मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाहालले बताए । उनका अनुसार तस्करी नियन्त्रण गरेर राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै सीमा क्षेत्रका बासिन्दालाई विपद्का समयमा सहयोग गर्ने र चोरी डकैती नियन्त्रण गरेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने अभियानमा सशस्त्र प्रहरी छ ।
दुई देशबीचको सीमा क्षेत्रलाई व्यवस्थित गर्न सशस्त्र प्रतिवद्ध रहेको डीआईजी दाहालले बताए । सीमाको विकास र सुरक्षालाई सहयोग पु¥याउने मुख्य उदेश्यले बीओपी स्थापना गरिएको जानकारी उनले दिए । ‘दुई देशीय सीमा मुलुककै गौरव भएकाले त्यसलाई व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारी सशस्त्रलाई छ,’ डीआईजी दाहालले भने, ‘त्यही भएकाले पिलरको रेखदेख गरेर सीमाको रक्षा, नियम र कानुनको पालनालाई विशेष ध्यान दिइएको छ ।’ विभिन्न खाले अपराध, अवैध गतिविधी, सीमा अतिक्रमण लगायतका समस्या र चोरी तस्करी सीमाको मुख्य चुनौती रहेको जानकारी उनले दिए ।
मोरङको सिक्टीमा नयाँ बीओपी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहाल ।
प्रजिअ निरौलाले सीमाको रक्षामा वर्षौदेखि लागिरहेका नागरिकलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भएको बताए । उनले आफ्नो भूमिको रक्षाका लागि अहोरात्र खटिने नागरिकलाई सहयोग र सुरक्षा प्रदान गर्न सीमामा सुरक्षाकर्मीको उपस्थिति बढाउने काम भइरहेको जानकारी दिए । मेयर दासले सीमामा सुरक्षा उपस्थिति बढाएपछि भारतीयको अनआवश्यक हर्कत र गतिविधी अन्त्य हुने अपेक्षा राखिएको बताए ।
भारत तथा चीनसँग सीमा जोडिएका नाकामा चालू आर्थिक वर्षभित्र एक सय १४ वटा बीओपी थप गर्दै मुलुकभर सङ्ख्या दुई सय २१ वटा पुर्याउने लक्ष्य सरकारले लिएको थियो । पहिलो चरणमा प्रदेश १ मा नयाँ २२ वटा बीओपी स्थापना भएर सञ्चालनमा आइसकेको दाहालले बताए । प्रदेशमा थपिएका सहित जम्मा बीओपी सङ्ख्या ५१ पुगेको छ । जसमा भारततर्फ ४९ र चीनतर्फ दुईवटा रहेका छन् । रेखा घिमिरे
मोरङमा ११ वटा बिओपी , प्रदेश १ मा ५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1