हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी चैत्र १० / शुक्रबार शङ्कास्पद अवस्थामा मृत भेटिएका विराटनगरका एक युवकको अन्त्येष्टि गर्न आफन्तले अस्वीकार गरेका छन् । हत्या भएको दाबी गर्दै आफन्तले हत्या आरोपी पक्राउ नपरेसम्म अन्त्येष्टि गर्न अस्वीकार गरेका हुन् ।
विराटनगर महानगरपालिका–३ आयल निगमका ३५ वर्षीय कान्छा भनिने नितेशकुमार राई शुक्रबार विराटनगर–१९ धनपुरामा मृत अवस्थामा भेटिएका थिए । रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । हत्या गरी कान्छाको शव झुण्डिएको जस्तो बनाएको भन्दै आफन्तले आरोपी पक्राउ नपरेसम्म शव नबुझ्ने बताएका हुन् । प्रहरीले हत्या आरोपी पक्राउ गरेपछि मात्रै अन्त्येष्टि गर्ने मृतकका माइला दाजु रामबहादुरले बताए । ‘हामीले अस्पतालबाट शव लगेका छैनौं,’ उनले भने, ‘घटनाको छानविनपछि मात्रै अन्त्येष्टि गर्छाैं ।’
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए । शङ्कास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको बताउँदै उनले अनुसन्धानको निष्कर्ष केही दिनभित्र सार्वजनिक गर्ने बताए । ‘घटनास्थलको मुचुक्ला उठानदेखि प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘आफन्तले आशङ्का गरेका र अन्य शङ्कास्पदमाथि सोधपुछ जारी छ ।’ उनले पोस्टमार्टमको डिटेल रिपोर्ट र भिसेरा जाँचको रिपोर्ट आएपछि थप विषय खुल्ने बताए ।नितेश बिहीबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भन्दै घरबाट हिँडेका थिए ।
शुक्रबार धनपुरास्थित भित्री खेतको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । आफन्तको दाबीअनुसार नितेशको योजनावद्ध रुपमा हत्या गरिएको छ । उनको शरीरको विभिन्न भागमा चोट र निलडामहरु छन् । सडकखण्डभन्दा करिब एक किलोमिटर भित्र एकान्त स्थानमा रहेको रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।