हल्दिबारी । झापाको सदरमुकाम भद्रपुर– ८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ । महेन्द्र शाह शालिक पुनर्स्थापना समितिले आज ९शनिवार० बिहान १० बजे पूर्व राजा महेन्द्र शाहको अर्धकदको शालिक राख्ने कार्यक्रम राखेको थियो । झापा प्रशासनले तत्काल शालिक नराख्न र राख्दा भद्रपुर नगरपालिकासँग समन्वय र सहकार्य गरी मात्र कार्यक्रम अघि बढाउन भनी निर्णय गरिसकेको छ ।
तर, शालिक पुनर्स्थापना समितिले झापा प्रशासनको निर्णय विपरीत पूर्व राजा महेन्द्र शाहको शालिक राख्न सक्ने भन्दै झापा प्रशासनले पार्कभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । सशस्त्र र नेपाल प्रहरी गरी ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
साथै सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्ने सम्भावित बाटोहरू पनि बन्द राखेको छ । यो समाचार तयार पारुन्जेल अहिलेसम्म पार्क वरिपरि शालिक पुनर्स्थापना समितिका पदाधिकारीसहितको टोली आइ नपुगेको बताइएको छ ।
सम्भावित हुन सक्ने घटनालाई मध्यनजर गरी पार्कभित्र सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । पार्कभित्र सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । झापा प्रशासनको निर्णय विपरीत शालिक राख्न खोजे सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्ने उनले बताए ।
जेठ १८ गते जिल्ला प्रशासन कार्यालय झापामा बसेको सर्वदलीय बैठकले भद्रपुर नगरपालिकासँग समन्वय नगरी बिना अनुमति अनधिकृत रुपमा महेन्द्र पार्कभित्र पूर्व राजा महेन्द्रको शालिक पुनर्स्थापना गर्न तत्काल रोक लगाएका थिए । त्यसपछि समितिले संयोजकको नाम उल्लेखसँगै मिति र हस्ताक्षरबिनाको प्रेस विज्ञप्ति प्रकाशन गरी उल्टै झापा प्रशासनलाई ठाडो चुनौती दिएका थिए । विज्ञप्तिमा हिजो ९शुक्रवार० दिउँसो १२ बजे महेन्द्र पार्कमा सरसफाइ र शृङ्गार गर्न सबैलाई उपस्थितिको लागि आम अपिल गरिएको थियो ।
त्यसपछि बल्झिएको विवाद समाधानका लागि पुनः हिजै जिल्ला प्रशासन कार्यालय झापामा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको अध्यक्षतामा सर्वदलीय बैठक बस्यो । बैठकमा शालिक पुनर्स्थापना समितिका पदाधिकारी, नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।
छलफल पश्चात् बैठकले महेन्द्र पार्कमा कुनै पनि गतिविधि गर्दा स्थानीय सरकार अर्थात् भद्रपुर नगरपालिकासँग सहकार्य गरी अघि बढ्ने निर्णयलाई निरन्तरता दिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए । timesofpradesh बाट ।