बुटवल : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको एजेण्डा राप्रपाले छाडे पार्टी एकता हुने बताएका छन्।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापना असम्भव रहेको भन्दै लिङ्देन नेतृत्वको पार्टीले सो एजेन्डा छाडे पार्टी एकता गरेर आफूले नेतृत्व समेत हस्तान्तरण गर्ने उनले बताए।

राजनीतिमा पार्टीका एजेण्डा समय क्रमसँगै परिर्वतन हुँदै जाने बताउँदै उनले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापना सही नभएको धारणा राखे।

‘असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकोले राजतन्त्र पुनर्स्थापनालाई छोडेर हिन्दु राज्यको एजेन्डा बोकेका हौं। यदि यो राजतन्त्र पुनर्स्थापनाको एजेण्डा लिङ्देनले छाडे म पार्टी उहाँलाई बुझाइदिन तयार छु,’ थापाले भने।

उनले हिन्दु राज्य र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने समेत बताए। बहुमत जनता अहिले पनि हिन्दु राज्यको पक्षमा रहेको भन्दै उनले यो विषयमा जनमत संग्रह गर्नुपर्ने बताए।

साथै थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने राप्रपा नेपालको एजेण्डा रहेको बताए।

आफूले पार्टी छाड्नुको कारणबारे बेलिविस्तार लगाउँदै थापाले पार्टीभित्र निर्मल निवासको ठाडो हस्तक्षेप भएपछि पार्टीलाई पुनर्जागरण गर्दै अलग भएको बताए।

थापाले सरकारको गलत नीति र अकर्मण्यताको कारण देशमा तीव्र गतिले महँगी बढेको बताए। पेट्रोलियम पदार्थ, ग्याँसमा सरकारले अनावश्यक कर लगाउँदा अत्यधिक मूल्यवृद्धि भएको भन्दै सरकारले पेट्रोलियम पदार्थ र ग्याँसमा लगाउँदै आएको कर घटाएर जनतालाई राहत दिनुपर्ने उनको भनाइ थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार