स्याङजा, १६ मंसिर -स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् ।
अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका छन् ।अर्याल वालिङ नगरपालिकाका पूर्वमेयर हुन् भने, रेग्मी पूर्वप्रदेशसभा सदस्य हुन् । अर्याल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थिए । मोहन यसअघिको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
यो पनि पढ्नुहोस : धनगढीमा निषेधाज्ञा कायमै-कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् ।
प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो ।
शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ ।
हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर छात्राको ज्यान गएको थियो ।