भद्रपुरको वडा नं– ८ मा आफ्नै भवन रहेको नेपाल सामुदायिक विकास केन्द्र (NCDC) को भवन कार्यसमितिले भाडामा लगाउन पहल गरेको समाचार प्रकाशमा आएको छ । संस्थापक रामप्रसाद ढुंगानाको भरमग्दुर अग्रसरतामा २०४८ सालमा यो गैरसरकारी संस्था समुदायको आर्थिक र सामाजिक विकासमा सहयोग पु¥याउन स्थापना गरिएको प्रस्तावनामा उल्लेख छ । स्थापनापछिका निकै वर्ष झापा जिल्लाका विभिन्न क्षेत्रमा समुदायको आय एवम् सामाजिक उन्नयनका विविध कार्यक्रम र तालिमहरू सञ्चालन गरेर मनग्गे प्रशंसा कमाएको यो संस्था केही वर्ष यता भने लगभग कार्यक्रमविहीन छ ।

संस्थाका वर्तमान पदाधिकारीहरूले अग्रसरता नलिएर हो वा क्रार्यक्रमिक अनुदान जुटाउन बेवास्ता गरेर हो, कार्यान्वयन गर्ने कुनै कार्यक्रम पाइन्न । यही असहज अवस्थामा हालै केन्द्रको कार्यसमितिले ३ तले भवनको भूइँ तला बाहेक माथिका २ तला र सोही भवनको दक्षिणस्थित अर्को सानो २ तले भवनको आधा खण्ड समेत भाडामा लगाउन प्रक्रिया अघि बढाएको बुझिएको हो । सामुदायिक केन्द्रले छेवैको ओम साई पाथीभरा हस्पिटलमा, सरकारको नयाँ स्वास्थ्य नीति मुताविक सञ्चालन हुन लागेको, नर्सिङ शिक्षाका शिक्षार्थी तथा स्टाफहरू पढ्ने–बस्ने प्रयोजनका निम्ति सो हस्पिटलको सञ्चालकसित सम्झौता हुन लागेको बताइन्छ । कार्यक्रम नभएपछि आयस्ता पनि नगण्य हुँदा कार्यरत ४ जना कर्मचारीलाई तलब दिन पनि धौ–धौ परिरहेको अवस्थामा हस्पिटललाई पूस १ गतेदेखि भाडामा दिन कार्यसमितिमा सहमति जुटेको महासचिव निर्मल प्याकुरेलले बताएका छन् ।

उनका अनुसार, मासिक निम्नतम सवा लाख रुपैयाँमा भवन भाडामा लगाउन अध्यक्ष– मणि ढुंगाना, आफू र कोषाध्यक्ष– प्रमिला कोइराला लगायतको ९ सदस्यीय कार्यसमितिले निर्णय गरेको छ । ग्रामीण आवश्यकता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न कार्यक्रमहरूको तर्जुमा गर्ने, सामुदायिक विकासका लागि अनुसन्धान गरी नवीन तौरतरिका र अनुभवहरूलाई उपयोगमा ल्याई सर्वसाधारणको प्रगतिका लागि प्रचार–प्रसार गर्ने, सामुदायिक हितका खातिर विभिन्न तालिमको व्यवस्था गर्ने र गराउने लगायत उद्देश्य रहेको यस संस्थाको भवन तथा परिसरमा अन्य संघ–संस्थाले पनि निर्धारित शुल्क तिरेर कार्यक्रम गर्न पाउँछन् । माथिल्ला तलामा व्यवस्थित कोठाहरू संस्थागत रूपमा लजिङ प्रयोजनका पनि दिइने गरिए बाहेक बिहेबटुलो लगायतका अन्य समारोहका लागि समेत किफायती दरमा भाडामा लगाउने गरिएको महासचिव प्याकुरेलले बताए । अहिले स्थानीय समाजको चासोको विषय भने उक्त सामुदायिक भवनको तोकिएका माथिल्ला तला र कोठाहरू हस्पिटलले भाडामा लिएपछि पनि भाडामा नदिइएको तल्लो तला र भवन परिसरमा चाहिं पहिला झैं कार्यक्रम वा समारोहादि गर्न पाइने हो कि होइन भन्ने नै हो । यो केन्द्रमा अन्यत्रभन्दा सहुलियत दरको भाडा, पायक स्थान, पार्किङको सुविधा र व्यवस्थित भएको हुनाले पनि धेरै मानिस एवम् संस्थाको रोजाइ बनेको पाइन्छ ।

त्यसैले केन्द्रको भवन भाडामा लगाउने यस प्रकरणमा समुदायको चासो बढेको बारे महासचिवसँग जिज्ञासा राख्दा उनले– साविक बमोजिम वैवाहिक समारोह लगायतका कार्यक्रमहरू गर्न केन्द्रले भाडामा नदिएको तल्लो (भूइँ) तला र आँगन उपलब्ध हुने स्पष्ट गरे । ‘हामीले माथिल्ला तला र पछाडिको भवन भाडामा दिने हो । त्यस बाहेकको संरचनामा हामीले नै वैवाहिक र अन्य कार्यक्रमका लागि भाडा लाउँछौं । यो सामुदायिक भवन नै भएकोले पहिले जस्तै सुविधा अबका दिनमा पनि समुदायलाई उपलब्ध हुने छ । त्यसमा कुनै शंका नगरे हुन्छ । हस्पिटललाई केही भाग भाडामा दिने विषय केवल केन्द्रको आत्मनिर्भरताका लागि आर्थिक सबलीकरणको प्रयास मात्र हो; जुन जरुरी पनि थियो– उनको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार