हेटौंडा । हेटौँडाको सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने आमाछोरीलाई प्रहरीले न पक्राउ गरेको जनाएको छ । डाक्टरमाथि सांघातिक आक्रमण गर्नेमध्येका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।
रमा मृतक राजेश प्रधानको श्रीमती र रमिता छोरी हुन् । कुटपिटमा पक्राउ परेका दुईसहित मृतकका छोरा, भतिजलगायत संलग्न रहेको प्रहरीको भनाइ छ । सन्चो अस्पतालका चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट भएको थियो ।
गत साउन २५ गते डेंगी सङ्क्रमित हेटौँडा–१२ का ४१ वर्षीय प्रधानको परीक्षणका क्रममा लापरबाही गरेको आरोपमा चिकित्सकहरुमाथि आक्रमणगरेको उनीहरुको दावी छ । सन्चोबाट रिफर भएका उनको मृत्यु भने चितवनस्थित चितवन मेडिकल कलेजमा भएको थियो ।