काठमाडौं । नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको हो । अभिनाश बोहराको उत्कृष्ट बलिङमा नेपालले माल्दिभ्सलाई सस्तैमा समेटेको हो ।
आइतबार जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल अन्तिम आठमा प्रवेश गरेको हो ।
नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भएको थियो । माल्दिभ्सका लागि दुई जना बाहेकले दोहोरो रन जोड्न सकेनन् । मुएवियाथ अब्दुल घानीले ३६ र सिउस फरिदले १० रन बनाएका थिए । माल्दिभ्सलाई अलआउट गर्न नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए ।
टी-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिने अभिनाश पहिलो नेपाली बलरसमेत बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए । माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन जोडे । मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गरेर रेकर्ड बनाएका कुशल मल्लले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए । अरु ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए । नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एक/एक विकेट लिए ।
नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् । – फाइल तस्बिर