काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार प्रेस विज्ञप्ति जारी गरेर काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गतेदेखि पुस ३ गतेसम्म पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन, जुलुस र प्रदर्शन गर्न रोक लगाएकाे छ ।
मंसिर ७ गते एकैदिन नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले माइतीघरमा प्रदर्शन गर्न लागेका थिए । तर दुई पक्षको प्रदर्शन एकै ठाउँमा हुँदा शान्ति सुरक्षामा समस्या आउने आकलन गर्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो।