नेपाली काँग्रेस झापाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन भएको छ ।
बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्ता सिटी अस्पतालमा आज अपराह्न शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो । कमल गाउँपालिका ५ मङ्गलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिना अघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएका शर्माको मुटुमा समस्या देखिएको र रगत कम भएको अवस्थामा उनको उपचार भइरहेको थियो – अस्पताल प्रशासन प्रमुख विनोद बस्नेतले भने ।
बिपी कोइरालाका अनुयायीका रुपमा रहनु भएका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म गरेका थिए ।
२०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत नेपाली काँग्रेसका त्यागी र निष्ठावान् नेताका रुपमा छवि बनाउनु भएका शर्माको बिर्ता सिटी अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो ।
२०४२ सालमा नै नेपाली काँग्रेस झापाको सभापति बन्नु भएका शर्मा झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा समेत उम्मेदवार भएका थिए । त्यागी र नेपाली काँग्रेसका निष्ठावान् नेताका रुपमा परिचित शर्माको भोलि कनकाई माईमा ११ बजे दाहसंस्कार गरिने नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
पाँच वर्ष अघि जीवन सङ्गिनी गुमाएका दिवङ्गत दाहालका तीन छोराहरू विनोद ,प्रमोद ,आमोद र एक छोरा प्रमीला छन् ।
उनले पार्टीसँगै स्थानीय सामाजिक सङ्घसंस्थाहरूमा समेत योगदान पुरयाँउदै आएका थिए । शर्माको निधन प्रति दुःख व्यक्त गर्दै १२ गते नेपाली काँग्रेस झापाको कार्यालय बन्द रहने र तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको नेपाली काँग्रेस झापाका सचिव हुमागाईँले बताए ।