लेखक निरोज कट्टेलको पहिलो तर ओजस्वी साहित्यिक कृति ’२०२८ – झापा विद्रोहको अन्तर्कथा’

निकै दिन अघि नै, पहिलेका मेरा सहकर्मी भाइ, पर्वत पोर्तेलले, उनी मेरो घरमै भेट्न आएका बेला, उपलब्ध गराएका भए पनि मैले भने दुई दिन निरन्तर पढेर अस्ति (२०८१ साउन २८ गते) दिउँसो मात्र पढिसिध्याएँ ।

यस्ता शक्तिशाली नयाँ कलमीले पनि ’झापाको अक्षर–खेत’ ऊर्बर छ भन्ने थाहा नपाउँदो म, सो पुस्तक पढिसकेर सबभन्दा पहिला आफैलाई धिक्कार्दाे भएँ र पुस्तकको अन्तिम पृष्ठमा, लेखकको फोटो छापिएको तल्तिर खाली ठाउँमा लेख्तो भएँ –
“पढिसकें । यसको प्रभाव ममा धेरै दिन रहनेछ । समग्रमा, २०२८ – ०३० सम्मको व्यक्ति–हत्याका आतङ्की घटनावलीका सन्दर्भमा मैले विगतमा दर्जनौं लेखादि छापामा ल्याएकामध्ये कतिपय चाहिँ गलत सूचना वा सूचना–स्रोतहरूमा निहित पूर्वाग्रह निर्देशित बेइमानीका कारण गलत बुझिएछ भन्ने पनि ममा अनुभूत भयो !

अतः म जीवित रहँदैगर्दा नै लेखकसँग भेट्न पाएँ भने म आजको मेरो उमेरका ८० वर्ष ८ महिना बोकिरहेका दिनहरू र तिनमाथि थपिने दिनहरू समेत बोकिरहेको शिर ( टाउको) झुकाएर आह्लादित मनले ’स्यावास !’ भन्नेछु । जुन ’स्यावास’ शब्द मेरो ६४ वर्षे कलमकर्मी (अक्षरखेतीवाल)– जीवनको ओजनभन्दा गह्रौ हुनेछ ।“……

२०२८ साल जेठ ३ गते तत्कालीन ज्यामिरगढी वार्ड नं. ३ को एउटा कुलोको डिलमा कर्णबहादुर गौतमको नृशंस हत्याबाट प्रारम्भ भएको आतङ्क अन्य छ झापालीको हत्यापछि आठौ पालो २०३० असोज १२ गते दुहागढीका ज्ञानबहादुर बस्नेतको हत्यामा अन्त्य भएको थियो । यी प्रत्येक हत्याको सूचना पाउनासाथ म र नारायणबहादुर कार्की हत्यास्थलमा पुगेका हुन्थ्पौं । म त्यसबेला विवेचना ( अर्द्ध–साप्ताहिक समाचारपत्र ) र विवेचना (साहित्य मासिक पत्रिका) चलाइरहेको थिएँ । मित्र नारायण रा.स.स.का मेची अञ्चल प्रतिनिधि थिए । हामीले कुन लाश कुन अवस्थामा थियो, कुन परिवारका सदस्यहरू विदीर्ण आलाप–विलाप–विलौना गर्दै कसरी रोइरहेका थिए र एकत्रित मानिसहरू आतङ्कित भएर के–के भन्दैथे इत्यादि देखे– सुनेका थियौं ! त्यही आतङ्कका कर्ता र मूल निर्देशकहरू ’बोली बिक्ने’ ठाउँमा पुग्दै जाने क्रमसँगै ती सबै हत्याका घटनाहरूको समग्रतालाई ’झापा विद्रोह’ नामाकरण गरिएको हो भनेर त आज पनि म भनिरहेकै छु । यद्यपि, उपरूल्लेखित पुस्तकले पनि हत्याकारी व्यक्तिहरू र हत्या भएका व्यक्तिहरूबाटै सिर्जित परिस्थितिमा सन्निहित गुण–दोषका आयामहरू अंग्रेजीको उनन्सत्तरी (टढ)– को रूपमा हेर्न, गम्भीर र निरपेक्ष , पाठकहरूलाई सुझाएको पनि छँदैछ । अथवा अंग्रेजी अंक ट र ढ जता फर्काएर हेरे पनि ट र ढ नै हुन्छ , त्यस्तै ! …..

यो पुस्तकले विश्व–चिन्हित नक्सलपन्थी आन्दोलनलाई पनि फरक नपारी मज्बुतसँग जोडेर जगेर्ना गरेको छ । नक्सलपन्थी आन्दोलनको लगभग शुरुवातदेखि नै, अथवा मिति अहिले सम्झन सकिन, नक्सलबारी क्षेत्रकै रामधुन जोतका किसान र चियाबगान मालिकबीचको पहिलो लफेडाकै दिनदेखि नै म कलकत्ताबाट तुसारकान्ति घोषको सम्पादनमा प्रकाशमा आइरहेको प्रसिद्ध अंग्रेजी दैनिक अखबार ’अमृता बाजार पत्रिका’–को रिपोर्टरको रूपमा नक्सलबारीमा रहेको हुँ । सन् १९६७ मई २४मा नक्सलपन्थी सन्थाल लडाकुको तीरले पुलिस इन्स्पेक्टर सोनाम वाङ्दीको दिनदहाडै हत्या भएको समय म त्यहीँ थिएँ । नक्सलपन्थीको, सायद, उनीहरूका गतिबिधिको समाचार धेरै आओस् भन्ने निर्देशक–नीतिगत अपेक्षा नै थियो र ठूला–ठूला नेतासँग पनि रिपोर्टरहरू चिनाइन्थे । यही सुविधाले हुनसक्छ हामी रिपोर्टर खलकले चारु बाबु–कानु बाबु (चारु मजुम्दार– कानु सन्याल) र जङ्गल सन्थालसँग भेट्ने मौका पाइरहन्थ्यौं । तर, मेरो चाहिँ जङ्गल सन्थालसँग बढ्तै हिमचिम थियो । पछि उताबाट घर (भद्रपुर) आएपछि पनि भद्रपुर पारि बिहारको गलगलिया रेल्वे स्टेशनबाट ट्रेन चढे ८÷ ९ मिनटमै र पैदल बढीमा ३०÷३५ मिनटमा पुगिने अर्काे स्टेशन रहेको अधिकारी बजारस्थित उहाँको घरमा म धेरै पटक उहाँलाई भेट्न गएको छु । म त्यसबेला किन उहाँप्रति खायस राख्थें भन्ने आज आफै पनि यकिन गर्न सक्तिन , आफै छक्क पर्छु !

मैले २०२५ सालदेखि लगभग अढाई वर्ष तत्कालीन जिल्ला पञ्चायतको मुखपत्र ’पञ्चायत’–को सम्पादक (ना.सु.स्तरको कर्मचारी) भएर काम गरें । त्यसबेला विरेन राजवंशी जिल्ला पञ्चायतकै ना.सु. स्तरका पञ्चायत तालीम सहायक (पी.टी.ए.) थिए भने अर्का निर्माण नेउपाने (खरिदार)–ले मलाई विरेनसँग नजिक्याएका गिए । हामी तीनजनाको अनायासै घनिष्ट सम्बन्ध भएको थियो । म त्यो अल्लारे वयसम्म ’राजनीति’–को हकमा एकदमै शून्य थिएँ । दुई–तीन पटक त हामी तिनैजना पाटाको साग कोशेली बोकेर जङ्गल सन्थानलाई भेट्न गएका पनि मेरो सम्झनामा छ । उहाँ पाटाको साग ओैधी रुचाउनुहुन्छ भन्नेसम्म पनि हामीले थाहा पाएका थियौं । …..र, ती सबै भेटहरूमा हुने गरेका कुराकानीबाट मैले नक्सलपन्थी आन्दोलन जसरी बुझेको थिएँ त्यसकै भावभूमिमाथि झापाका उस समयका हत्या–आतङ्कलाई पर्गेल्थें – म यी दुईको शैलीमा उल्लेख्य समानता पटक्कै देख्तिनथें । झापाको सो गतिबिधिलाई जङ्गल सन्थाल पनि ’बहुत गल्तीहरू हेर्दैछु हामी’ भन्ने गर्नुहुन्थ्यो भन्ने मेरो सम्झनामा छ । कर्णबहादुर गौतमको हत्या भएको लाश मुचुल्का गर्न गएको इन्स्पेक्टर भीष्म बिक्रम थापाको प्रहरी टोलीले तत्कालै विरेनलाई पक्राउ गरेको थियो र के कारण हो ’खोजेको बेला हाजिर हुने’ कागज गराएर लगत्तै छोडेको थियो । राससका नारायण कार्की र म पनि त्यहाँ पुगेका थियौ । पछि फर्किदा विरेन पनि हामीसँगै आएका थिए र महेशपुरमा गोपालचन्द्र सिंह राजवंहीकहाँ जान्छु भनेर भद्रपुरको पन्नालाल चोकबाट हामीसँग छुट्टिएका थिए । त्यसपछि उनी कता गए थाहा भएन । एकैचोटी उनी इलाम जाने बाटोमा पर्ने सुखानी वनमा २०२९ फागुन २१ गते मारिएको बीभत्स लाश देख्न पुगेको सम्झना छ ममा । गोलीले उनको टाउको फुटाएको र पहेंलो गिदी अनुहारमा लत्केको देखेर मेरो आङ र मुटु सिरिङ्ग भएको झस्को भने अझै ममा छ !

आज झापा–आतङ्ककालका कतिपय कुराहरू मसिनो गरी छिन्किरहेका बेला झापाको उक्त काण्डका अगुवामधयेका एक अगुवा नै अहिले ’प्रधानमन्त्री केपी ओली’ हुनु भएको छ र उहाँबाट ’नागरिकताले नेपाली उद्योगीहरू’ मानिने अर्ब–खर्बपति छजनाको पक्षपोषण भइरहेको छ र राष्ट्रसेवक पंक्तिमा आम नेपालीको सर्वापरि विश्वासपात्र र अब्बल कहलिएका, विद्युत प्राधिकरणका राष्ट्रिय प्रमुख, कुलमान घिसिङका प्रतिको खेदाइ प्रकरणका दृश्यावलीहरू हेरिरहँदा मैले पूर्वदीप्ति (ाबिकज दबअप)–मा स्व. जङ्गल सन्थालसँगका कुराकानी र विरेन समेतको सन्दर्भ यहाँ जोढ्नु परेको मात्र हो । बस्, मात्र त्यति नै । नत्र यो पछिल्लो ’प्याराग्राफ’ यहाँ गाँस्नुको के तुक थियो र ? यो कुरा नवोदित सशक्त लेखक निरोज कट्टेलले मात्र बुझिदिनु भएको थाहा पाउन पाए मलाई अवश्यै अत्यन्त सन्तोक लाग्नेछ । बस् !…..

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार