६ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिप्रतिको नकारात्मक सोच त्याग्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल महिला संघ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै नेता सिटौलाल सर्वोत्तम नीति नै राजनीति भएकाले राजनीतिप्रतिको नकारात्मक धारणा त्याग्नुपर्नेमा जोड दिनुभयो । “राजनीतिक बिना विकास र परिवर्तन सम्भव छैन”, उहाँले भन्नुभयो, “म सबै कांग्रेस नेता–कार्यकर्ता र आमनागरिकलाई राजनीतिप्रतिको नकारात्मक सोच त्याग्न आग्रह गर्छु ।”
नेपाली कांग्रेस लोकतन्त्रको सम्वाहक भएकाले उल्लेख गर्नुहुँदै पूर्वमहामन्त्री एवम् राष्ट्रिय सभा सदस्य सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिनुभयो । “परिवर्तनको पक्षमा अग्रमोर्चामा रहेर कांग्रेसले नेतृत्व गरेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल आचार्य, झापा कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी लगायतले मन्तव्य राख्नुभयो ।
कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति उर्मिला गौतमको सभापतित्वमा भएको कार्यक्रममा नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीले प्रशिक्षण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । शिला तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रमिला कोइरालाले गर्नुभएको थियो ।
कार्यक्रममा महिलाहरुको नेतृत्व विकासका विषयमा रमेशकुमार दाहाल, संविधान एवम् कानूनमा महिला अधिकार सम्बन्धी व्यवस्थाका विषयमा शान्ता पाठक र प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघका विषयमा कृष्ण हुमागाईंले प्रशिक्षण दिनुभएको थियो ।