भद्रपुर । दिवङ्गत राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरले स्थापना गरेको १४ औं पुरस्कारबाट उत्कृष्ट राष्ट्र सेवक सम्मान भद्रपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराई र कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका अधिकृत कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य छविलाल चुडाल , संगठन झापा अध्यक्ष केदार पोखरेल, सहकारी अध्यक्ष वशिष्ठ अधिकारी लगायतले नगद सहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेका थिए । संगठन झापा अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा तथा सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत सीता गुरागाईले गरेकी थिइन् । कार्यक्रममा संगठनका पूर्व सचिव तेजु रेग्मी, एमाले भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल , सम्मानित पत्रकार मनकुमार गदाल लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रममा महिला कर्मचारीहरूलाई हरितालिका तिजको सामूहिक दर कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
यो पनि …..
वर्तमान साहित्य प्रतिष्ठानको स्थापनाको २५ औं वर्षको उपलक्ष्यमा विविध कार्यक्रम
भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर साहित्य, कला, पत्रकारिता क्षेत्रका सकृय रहेको वर्तमान साहित्य प्रतिष्ठान झापाले स्थापनाको २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा कविता वाचन, गीत गायन तथा विगत वर्तमान झल्कने डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण अनमोलले झापा सदरमुकाममा सुस्ताउँदै गएको कला, साहित्यको उत्थानमा प्रतिष्ठान लागिरहेको जानकारी दिए ।
प्रतिष्ठानका उपाध्यक्ष फणिन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रममा भद्रपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेल, साहित्यकार भवानी क्षेत्री लगायतले मन्तव्य राख्दै भद्रपुरको कला, साहित्यको उन्नतिमा वर्तमान साहित्य प्रतिष्ठानको अविस्मरणीय योगदान रहेको चर्चा गरेका थिए ।
सचिव विकास पाण्डेले सञ्चालन गरेको कार्यक्रममा गायक अर्जुन खरेल, डिल्ली नेपाल लगायतले सुमधुर गीत सुनाएका थिए भने कवि विरही अधिकारी, हरिप्रसाद न्यौपाने, विकास पाण्डे लगायले कविता प्रस्तुत गरेका थिए ।