कविता: “विछोड्को वियोग”
त्यो दिन त्यो क्षण,
ती बितेका पलहरु,
तिम्रा ती बोली र भावहरु,
ति तिम्रा शब्द र वाक्यहरु,
ति हाँसो भित्रका आँसुहरु,
ति खुशी भित्र लुकेका पिडाहरु,
ति पिडै-पीडा ले भरिएका शब्दहरु ।।
ति दिनका ठठ्यौली र रातका अंगालोहरु,
ति तिम्रा प्रण र समर्पणका वाचाहरु,
ति तिम्रा झगडा रुपी प्रेमका वर्षाहरु,
ति तिम्रा आलिङ्गनमा बितेका न्यानो पलहरु,
ति तिम्रा चिन्ता चाँसो र मतलबहरु,
ति तिमिले खुवाएका पहिलो गाँसहरु,
ति तिम्रा मिठा फटकार र नखराहरु ।।
वियोगको मझेरीमा बाँच्नु छैन, मलाई !
मुर्झाएको फुल झै झर्नु छैन, मलाई !
तिमि बिनाको संसार देख्नु छैन, मलाई !
तिमि बिनाको सांसारिक सुख भोग्नु छैन, मलाई !
प्रेम पिडादायी हुन्छ थाहा थियो तर,
बिछोडको वेदना सहन सक्दिन होला !
सार्है गार्हो छ प्रिय, तडप र तिम्रो प्रेमको भोख ।।
प्रेम पुजा हो भने साधना गरेकै हुँ, प्रिय !
प्रेम त राग र त्यस भित्रको रस हो, प्रिय !
प्रेम त आँसुका थोपा भित्रको भाव हो, प्रिय !
प्रेम त मिलन र बिछोड भन्दा निकै माथी हो, प्रिय !
प्रेम त भोख र भोग पनि होइन नि, प्रिय !
प्रेम त समर्पण र त्याग हो नि, प्रिय !
यी सब बुझेर पनि सहन नसकिने पीडा नै प्रेम हो, प्रिय ।।
कसरी बिर्सुं, म ?
ति तिम्रा यादका पोकाहरु !
तिमी नै मद्दत गर न, प्रिय !
तिमी लाई भुल्न !
श्वास लिन पनि भुल्नु छ, मलाई !
नाक र मुख थुनि देऊ न, प्रिय !
विदा हुन चाहन्छु यो संसारबाट !
अलि सहज बनाइदेउ न, प्रिय !
ति तिम्रा वाचा-कसम बाट मुक्त गरिदेउ न, प्रिय !
केही उपाय त होला नि तिमि सँग, प्रिय ?
✍ डा. मनोज कुमार झा