नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आज साँझ कुटपिट भएको घटना भएको छ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किने क्रममा, कनकाई नगरपालिकाको जुकेखाडीनजिक थापामाथि कुटपिट भएको हो।
थापा बा १ झ ६५३ नम्बरको गाडीमा यात्रा गरिरहेका बेला बा १ झ १८७० नम्बरको गाडीमा रहेका व्यक्तिहरूले उनलाई कुटपिट गरेका थिए। यस घटनाबाट थापा घाइते भएका छन् र उनको आँखा सुन्निएको छ। उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ।
घटना विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवादबाट सुरु भएको बताइएको छ।
बिर्तामोड प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन्। हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षा निकायका प्रमुख र दुबै पक्षबीच छलफल भइरहेको जानकारी प्राप्त भएको छ।