सिलगढी, 17 जनवरी। दिल्ली पब्लिक स्कूल (डीपीएस) फूलबारीमा भव्य रूपमा दुई दिवसीय खेलकूद समारोह ‘फास्ट-ट्र्याक-V’ सम्पन्न भयो।
बिहीबार र शुक्रबार दुई दिन आयोजित यस खेलकूद समारोहमा पहिलो दिन प्री नर्सरीदेखि छैटौँ श्रेणीसम्मका अनि दोस्रो दिन सातौँ श्रेणीदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूले सक्रियाताका साथ सहभागिता जनाएका थिए।
आफ्नो छोटो वक्तव्यमा डीपीएस फूलबारीकी प्रधानाचार्य श्रीमती मनोवरा बी अहमदले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै भनिन्, विद्यार्थीहरूको जीवनमा पढाईसँगै खेलको महत्त्वलाई पनि ध्यानमा राखेर नै यस समारोहको आयोजना गरिएको हो। उनले मानव जीवनमा पढाई सँगसँगै खेलकूदको पनि धेरै आवश्यकता र फाइदा रहेको बताइन्। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उनीहरूलाई जीवनमा राम्रो बन्न सिक्नुपर्ने कुरामा पनि उनले जोर दिइन्।
पहिलो दिन समारोहमा मुख्य अतिथिका रूपमा आईजी बीएसएफ, कदमतला सूर्यकान्त शर्मा उपस्थित थिए। यसैगरी समारोहको दोस्रो दिन कमाण्डेन्ट सीआरपीएफ सुरेन्द्रसिंह राणाको विशेष उपस्थिति रहेको थियो। अतिथिहरूले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई पढाईसँगै आफ्नो स्वास्थ्यबारे ध्यान दिनुपर्ने सुझाउ दिए।
यसरी नै समारोहमा विद्या भारती फाउन्डेशनकी अध्यक्ष एवम् डीपीएस सिलगढीकी प्रोवीसी कमलेश अग्रवाल, डीपीएस फूलबारीका प्रोवीसी शरद अग्रवाल अनि डीपीएस फूलबारीकी निर्देशिका स्निग्धा अग्रवालको पनि विशेष उपस्थिति रहेको थियो।
समारोहको शुरुवातमा मुख्य अतिथिले स्कूलको झण्डा उत्तोलन गरेपछि बेलुन उडाएर समारोहको शुभारम्भ गरे। स्कूलका विद्यार्थीहरूले जोशिलो शैलीमा मार्च पास्ट गरेर अतिथिहरूलाई स्वागत गरे। यसरी नै प्री-नर्सरी, नर्सरी र कक्षा दुईका विद्यार्थीहरूले ड्रील पनि प्रस्तुत गरे। मैदानमा ओर्लिएका सबै विद्यार्थीहरूलाई खेल्नअघि एघाह्रौँ कक्षाकी छात्रा स्यू-मेई-लीले शपथ ग्रहण गराएकी थिइन्।
नर्सरीदेखि बाह्रौँ श्रेणीका विद्यार्थीहरूले खुकुरी नृत्य, कराटे, स्पून रेस, रिले बेलेन्सिङ द बलुन, फ्रुटशपिङ, हर्डल, शटल, अब्सटेकल, फ्लाट, लङ जम्प, शर्टपुट, टेनिस बल थ्रो आदि सबै वर्गका खेलहरूमा होर्षोल्लासका साथ भाग लिए। नर्थ बङ्गाल र सिलगढीमा नै पहिलोपल्ट डीपीएस फूलबारी स्कूलमा हक्की गर्ल्स टिमले फिजिकल एडुकेशन टिचर अनि हक्की कोच प्रनिशा गुरुङको निर्देशनमा हक्की डेमोस्ट्रेशन अति नै सुन्दर र आकर्षक ढङ्गमा प्रस्तुत गरे। विद्यार्थीले ब्याण्ड डिस्प्ले अति नै सुन्दर ढङ्गमा गरे भने खुकुरी नृत्य पनि प्रस्तुत गरेका थिए।
समारोहलाई अझ रोचक बनाउँदै स्कूलका शिक्षक, अशिक्षण कर्मचारीहरूले उत्साहपूर्वक दौड प्रतियोगितामा भाग लिए भने शिक्षिकाहरूले स्पून रेसमा भाग लिए। डीपीएस स्कूलको खेलकुद दिवसमा आफ्ना बाल्यकालका सम्झनाहरू सम्झँदै विद्यार्थीका बाबाहरूले धेरै सङ्ख्यामा दौड प्रतियोगितामा भाग लिए र आमाहरूले पेपर डान्सिङमा भाग लिएर रमाइलो गरे। स्कूलको पाँचौँ वार्षिक खेलकूद समारोह फास्टट्र्याक- V मा उत्कृष्ट खेल प्रस्तुत गरेर रेड हाउस (प्रेरणा) च्याम्पियन बन्यो। समारोहमा विजेताहरूलाई ट्रफी, मेडल अनि सर्टिफिकेट प्रदान गरियो। खेलकूद कार्यक्रम राष्ट्रिय गानको साथ समापन भयो।