झापा । चर्चित गायिका ज्योति मगर र गायिका समीक्षा अधिकारीबीच सामाजिक सञ्जालमा वाकयुद्ध भएको छ। आइतबार बिहान समीक्षा अधिकारीले श्री एयरलाइन्सको ढिलासुस्तीको आलोचना गर्दै आफ्नो कार्यक्रम रद्द भएको गुनासो सामाजिक सञ्जालमा पोष्ट गरेपछि विवाद सुरु भएको हो।
समीक्षाले आफ्नो स्टाटसमा भनिन्, “मौसम खराबीका कारण उडान प्रभावित हुनु स्वाभाविक हो। तर, एयरपोर्ट खुलेपछि पनि बिहान ८ बजे हुने उडान दिउँसो २ बजेमात्र भएकोले यात्रुहरूलाई एयरपोर्टमै अलपत्र पारियो।” उनले यसअघि पनि श्री एयरलाइन्सबाट यस्तै अनुभव भोगेको उल्लेख गर्दै यसको असन्तोषजनक सेवाप्रति आक्रोश व्यक्त गरिन्।
यो स्टाटसको प्रतिक्रियामा गायिका ज्योति मगरले आफ्नो अनुभव प्रस्तुत गर्दै भनिन्, “मलाई अहिले दैनिक दुई फ्लाइट गर्नुपर्ने हुन्छ। मौसमका कारण मैले पनि धेरै कार्यक्रम रद्द गर्नुपरेको छ। तर, प्रकृतिभन्दा माथि हामी कोही छैनौं।”
मगरले कलाकारहरूले एयरलाइन्सलाई दोष दिने प्रवृत्तिलाई लिएर टिप्पणी गर्दै भनिन्, “आजकल कलाकारहरूले आफूलाई ठूलो स्टार सम्झेर एयरलाइन्सलाई गाली गरिरहेका छन्। तर, हामीले नियम र कानूनी पालना गर्न सिक्नुपर्छ।”
यो विषयले सामाजिक सञ्जालमा व्यापक चासो र बहस सिर्जना गरेको छ। दुवै गायिकाका समर्थकहरूले आ-आफ्ना तर्क प्रस्तुत गर्दै प्रतिक्रिया दिइरहेका छन्। समीक्षा अधिकारीले एयरलाइन्सको सेवा सुधार्नुपर्ने माग गरेका छन् भने ज्योति मगरले परिस्थितिलाई सहनशीलताका साथ स्वीकार्नुपर्ने धारणा राखेकी छन्।