हल्दीबारी, १३ माघ । झापा जिल्लाको हल्दीबारी गाउँपालिका–४ स्थित पुन्य प्रसाद रिजालको घरमा शनिबार साँझ लाखौं रुपैयाँको धनमाल चोरी भएको छ।
रिजाल परिवार आफन्तको घरमा पाहुना गएको बेला चोरी भएको हो। स्थानीयवासीले घटना प्रहरीलाई जानकारी दिएपछि अनुसन्धान सुरु भएको छ। रिजालले प्रहरीलाई दिएको बयान अनुसार, चोरीमा नगदसहित पाँच तोला सुनका गरगहना, भाँडाकुडा र केही कपडासमेत हराएको छ। प्रहरीका अनुसार, चोरी गरिएको धनमालको अनुमानित मूल्य करिब १० लाख रुपैयाँ छ।
चोरीका घटना बढ्दै : हल्दीबारी गाउँपालिकामा पछिल्लो समय लागुऔषध दुर्व्यसनी बढेसँगै चोरीका घटनामा वृद्धि भएको छ। स्थानीयका अनुसार, गत साताभित्र मात्र पाँचवटा चोरीका घटना भएको बताइएको छ।
प्रहरीले चोरीका घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्न र नियन्त्रण गर्न आवश्यक अनुसन्धान सुरु गरेको छ। चोरीका घटना नियन्त्रणका लागि स्थानीय समुदाय र प्रहरीको सहकार्य अपरिहार्य देखिन्छ।