द्रोण अधिकारी /  भद्रपुर । तरकारीमा आत्मनिर्भर नगर बनाउन लागिरहेको भद्रपुर नगरपालिकाले पछिल्ला वर्षहरूमा आलु खेतीमा गरेको लगानी सफल हुँदै गइरहेको छ ।

कृषि विकास शाखामार्फत चालु आर्थिक वर्षमा सञ्चालन गरेको “खाद्यन्न बाली आलु खेती प्रवद्र्धन कार्यक्रम“ अन्तर्गत किसानहरूलाई आलु खेतीमा प्रोत्साहन गर्न थालेपछि उत्पादन बढ्दा नगरको लगानीले सार्थकता पाउन थालेको हो ।

नगरपालिकाले किसानहरूको आर्थिक सशक्तीकरण र स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रति कठ्ठा आलु खेती गर्ने किसानलाई २,००० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँन थालेपछि आलु खेतीमा आकर्षण बढ्न थालेको छ ।

नगरपालिकाको प्राविधिक टोलीले प्रत्येक वडाका किसानहरूको खेती निरीक्षण गरी उत्पादनलाई गुणस्तरीय बनाउने काममा समेत सहयोग गरिरहेका छन् ।

भद्रपुर ३ स्थित मेचीपारी रहेको बैशावारीका किसानले बढी मात्रामा आलु खेती कार्यक्रमको लाभ उठाइसकेको कृषि शाखाको विवरणले देखाएको छ । यस कार्यक्रमले भद्रपुर नगर क्षेत्रमा आलु उत्पादनमा उल्लेखनीय सुधार ल्याएको शाखाका कर्मचारी सुमन विमलीले जानकारी दिए । उनका अनुसार किसानहरूले यस कार्यक्रमलाई अत्यन्त सकारात्मक रूपमा लिएकाले आलुको उत्पादन वृद्धि भएर स्थानीय बजारलाई पनि थप प्रतिस्पर्धी बनाउने वातावरण निर्माण भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि २० लाख रकम विनियोजन गरेर कार्यक्रम सन्चालन गरिरहेको छ ।

कार्यक्रम बारे नगरप्रमुख गणेश पोखरेलले आलु खेती प्रवद्र्धन कार्यक्रम नगरपालिकाको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने परियोजनामध्ये एक भएको बताए । प्रमुख पोखरेलले किसानहरूले गरेको लगानीलाई सम्मान गर्दै उनीहरूलाई प्रत्यक्ष रूपमा आर्थिक सहयोग गर्दै आएको जानकारी दिए ं। उनका अनुसार यस कार्यक्रमले उत्पादनलाई मात्र नभई किसानहरूको जीविकोपार्जन र आत्मनिर्भरतालाई समेत बलियो बनाउनेछ । आगामी दिनमा यस्ता अन्य योजनाहरू पनि सञ्चालन गर्दै भद्रपुर नगरलाई कृषि उत्पादनको आत्मनिर्भर पालिका बनाउने लक्ष्य समेत सुनाए ।

यस योजनाबाट भद्रपुरका कृषकहरूको आयस्तरमा समेत सुधार भएको छ भने आलुको उत्पादनले बजारमा माग धान्न सक्ने सम्भावना बढेको छ । किसानहरूको भनाइमा आलु खेतीको लागि सरकारले दिएको आर्थिक सहयोगले उत्साह दोब्बर भएको छ भने कृषि क्षेत्रलाई आधुनिकतातर्फ अघि बढाउन सहयोग मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार