झापा, १५ माघ । झापाको शिवसताक्षी नगरपालिका-११ झरना पुल नजिक पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ।
बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको पिकअप (प्र. १-०२-००२ च ६४५४) र विपरीत दिशाबाट आइरहेको स्कुटर (प्र. १-०१-०१२ प ३३७१) ठोक्किँदा १९ वर्षीय सुजल अधिकारी गम्भीर घाइते भएका थिए। घाइते अधिकारीलाई तत्कालै बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले ३:३० बजे उनलाई मृत घोषणा गरे।
दुर्घटनाको प्रारम्भिक अनुसन्धानअनुसार पिकअपको तीव्र गति नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ। दुर्घटनापछि फरार रहेका पिकअप चालक तेह्रथुम म्याङलुङ नगरपालिका-४ निवासी ३६ वर्षीय अर्जुन शंकरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ।
दुवै सवारीसाधनको जाँच गर्दा कागजपत्र उपलब्ध नभएको र चालकहरूले मादक पदार्थ सेवन नगरेको प्रहरी स्रोतले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।