गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन्।
एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन्। तर, पछिल्लो समय उनीहरूको वैवाहिक सम्बन्ध राम्रो नभएको चर्चा भइरहेको थियो।
अदालतमा पेस गरिएको निवेदनमा एलिनाले आफू कलाकारिता क्षेत्रमा सक्रिय भएकाले राति अबेरसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्ने बताएकी छिन्। उनका अनुसार, यसकै कारण पतिले शंका–उपशंका गर्ने गरेका थिए।
विवाहपछि एलिना अस्ट्रेलिया गएर पतिसँग बसेकी थिइन्। सुरुमा सम्बन्ध राम्रो भए पनि केही समयपछि खटपट आउन थालेपछि उनी नेपाल फर्किएको उल्लेख छ।
भावनात्मक सम्बन्ध कमजोर भएकाले कागजी रूपमा पति–पत्नीको नाता कायम राख्न उचित नदेखिएको भन्दै उनले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएको जनाइएको छ।