फाइल तस्बिर । नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ सालबासमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।
गएराति पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका–३ निवासी २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल लगिएको छ। प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा रहेकाले सडकको बीचमा रहेको पेटीमा ठोकिएर दुर्घटना भएको अनुमान गरिएको छ । नवलपरासी प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।