पूर्वी नेपालमा केबुलकार निर्माणको विरोध गर्दै गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ।

ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा केबुलकार निर्माण रोक्नुपर्ने मागसहित मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले माघ २०–२१ गते अरुणपूर्वका नौ जिल्लामा बन्द आह्वान गरेका थिए। यसको प्रभाव ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, र सङ्खुवासभामा देखिएको छ।

बन्दका कारण कोशी पहाडका जिल्लाहरूमा सवारीसाधन ठप्प भएका छन्। कोशी राजमार्ग हुँदै पहाड–तराई जोड्ने मुख्य यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन्। तमोर करिडोरमा यातायात सञ्चालन नहुँदा धनकुटा, ताप्लेजुङ, र पाँचथर क्षेत्र पनि प्रभावित बनेको छ।

केबुलकार निर्माण धार्मिक आस्थाविपरीत रहेको भन्दै विरोध गर्दै आएका आन्दोलनकारी केही दिनअघि प्रहरीसँग झडपमा परेका थिए। सो क्रममा तीन जना गोली लागी गम्भीर घाइते भएपछि आन्दोलन झनै चर्किएको हो।

आन्दोलनकारीहरूले केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीको गोलीबाट घाइते भएकाहरूलाई आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने, र पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्नुपर्ने माग राखेका छन्।

गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबुलकार निर्माणसम्बन्धी विवाद समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वय गर्न जिम्मेवारी दिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
1
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार