इलाम, माघ २० । इलामको सुर्योदय नगरपालिका–१०, डाक्टर खोलास्थित मेची राजमार्गमा आज दिउँसो करिब २ः३० बजे सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
इलामबाट झापातर्फ गइरहेको बागमती प्रदेश ०२-०४२ प ६०१५ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक इलाम, देउमाई नगरपालिका–३ निवासी ४८ वर्षीय चित्र खनालको नाक र दाहिने खुट्टामा चोट लागेको छ भने मोटरसाइकलमा पछाडि सवार उनका २१ वर्षीय भतिज मदन खनालको बायाँ खुट्टामा चोट लागेको छ।
दुर्घटनापछि दुवै घाइतेलाई श्रीनिधि अस्पताल, फिक्कल, इलाममा प्रारम्भिक उपचार गरी थप उपचारका लागि झापातर्फ पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको र बोल्न सक्ने स्थिति रहेको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी फिक्कल, इलामका प्रहरी नायब निरीक्षक (प्रनानि) विष्णु सापकोटाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हाल दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी फिक्कलको नियन्त्रणमा रहेको छ।