झापा, २२ माघ । झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गर्दै पक्राउ गरेको छ।
आज साँझ इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले लागूऔषध लुकाएर राखेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न खोजेको थियो। तर, भाग्ने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गर्यो। त्यसपछि पनि भागेपछि नियन्त्रणमा लिन दुई राउन्ड गोली प्रहार गरिएको थियो।
पक्राउ पर्नेमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाई युसुफ आलम रहेका छन्। गोली लागेर घाइते भएका एकजनालाई कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ भने अर्को प्रहरी नियन्त्रणमा रहेको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले जानकारी दिएका छन्।