रौतहट, फागुन २ – सरस्वती पूजाको मूर्ति सेलाउन गएका एक युवकको बागमती नदीमा डुबेर मृत्यु भएको छ। रौतहट जिल्लाको राजदेवी नगरपालिका-६ मा रहेको बागमती नदीमा मूर्ति विसर्जन गर्ने क्रममा २२ वर्षीय सुरज यादव डुबेर बेपत्ता भएका थिए।
राजदेवी नगरपालिका-७, मुडवलवा घर भएका यादव सोमबार मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेपछि स्थानीयबासी तथा सुरक्षाकर्मीहरूले खोजी कार्य सुरु गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार आज बिहान उनलाई डुबेकै स्थानमा फेला पारिएको हो।
डीएसपी रायका अनुसार यादवको शव माछा मार्ने जालको सहायताले निकालिएको हो। कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शवलाई पोस्टमोर्टम गरी परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रत्येक वर्ष मूर्ति विसर्जनको क्रममा यस्ता घटनाहरू दोहोरिने भएकाले सुरक्षाका उपाय अपनाउनुपर्ने स्थानीयहरू बताउँछन्। यस दुर्घटनापछि स्थानीय प्रशासनले पनि आगामी दिनमा विशेष सतर्कता अपनाउने बताएको छ। यो खबर कान्तिपुर टिभि डटकमबाट साभार गरिएको छ ।